जनता टाइम्स

२७ बैशाख २०७६, शुक्रबार १६:५५

प्रधानमन्त्री र मैले हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी ल्याइन्छ : प्रचण्ड


काठमाडौं, बैशाख २७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले नेतृत्वबाटै हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी काठमाडौं ल्याउने उदघोष गर्नुभएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी ल्याउने घोषणा गर्नुभएको हो ।

मेलम्ची ल्याउन नदिने खेलमा नेपालीहरु नै लागेका भन्दै उनले अब कडा कदम चालेर भए पनि मेलम्ची ल्याउने बताएका हुन् । ‘म आफै पनि र प्रधानमन्त्री पनि नेतृत्वले हस्तक्षेप गरेर पनि मेलम्ची ल्याउनुपर्छ भन्नेमा दृढ छौं, हामी त्यसतर्फ उन्मुख छौं,’ कार्यक्रममा अध्यक्ष प्रचण्डले भन्नुभयो । आफू प्रधानमन्त्री भएका बेला मेलम्ची आयोजनाको स्थलगत अनुगमनका जाँदा केही मानिसहरुले मेलम्ची आउन अझै एक दुई वर्ष लाग्छ भनेको स्मरण गर्दै विभिन्न गतिविधि गर्ने मानिसहरुको समूहले अझै आउन दिन्नौं भनेको सुनेको खुलासा पनि उहाँले गर्नुभयो ।

‘विभिन्न गतिविधि गर्ने केही मानिसको समूहले, अझै आउन दिन्नौं भनेका छन, ‘प्रधानमन्त्री र मन्त्रीको तत्परतामा शंका छैन । तर विगतका अनुभव हेर्दा बलियो हात नचलाई, सरकारले स्ट्रोङ कदम नचलाई मेलम्चीको पानी आउन गाह्रो छ,’ प्रचण्डको भनाई थियो । उहाँले मेलम्ची आउन नदिने खेलमा नेपालीहरु नै रहेको खुलासा पनि गर्नुभयो । ‘मलाई थाहा छैन, कसले रोक्छ मेलम्चीको पानी ?, सुरुङ खन्ने काम पनि मोर अर लेस सकिएको छ । सुन्दरीजलको पूर्वाधार पनि अन्तिम चरणमा छ,’ प्रचण्डले भन्नुभयो, ‘तर अझै एक दुई वर्ष लाग्छ किन भन्छन, मेलम्ची हाम्रै मान्छेहरुले (नेपालीहरुले) रोकेका हुन ।’

मेलम्चीलाई लामो समयदेखि लागेको रोगको रुपमा पनि उहाँले ब्याख्या गर्नुभयो । ‘यो छिटै सन्चो नहुने खालको रोग हो । उपचार चाहिँ छ, तर अलि लामो समय लाग्ने खालको रोग छ, जरुरी पर्यो भने अपरेसन गर्न पनि ढिला नगर्ने तर मेलम्ची ल्याउनुपर्छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष प्रचण्डको भनाई थियो ।