जनता टाइम्स

१९ मंसिर २०७६, बिहीबार १७:२६

भूमिमन्त्री पदमा अर्यालको घोषणा : नीजि गुठी गुठियारकै सम्पत्ति


काठमाडौं, १९ मंसिर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार गुठीको सम्पत्ति जोगाउने अभियानमा रहेको प्रष्ट पार्दै नीजि गुठी गुठियारकै सम्पत्ति भएको घोषणा गर्नुभएको छ । मन्त्री अर्यालले नीजि गुठीका सन्दर्भमा गुठियारले भनेअनुसार नै अघि बढने उदघोष पनि गर्नुभयो ।

सरकारले गुठीको विषय समेटिएको एकिकृत भूमि ऐन ल्याउन लागेको सन्दर्भमा गुठी विधेयकविरुद्ध एकीकृत आन्दोलन समितिले आज मन्त्री अर्याललाई ध्यानाकर्षण गराउन मन्त्रालय पुगेका गुठी बचाउ अभियानका अगुवाहरूलाई सम्बोधन गर्दै त्यस्तो बताउनुभएको हो । उहाँले नीजि गुठीको सन्दर्भमा सरकारले धेरै चासो नदिने बताउदै गुठी संस्थानले हेर्दै आएको बाँकी गुठीलाई सुशासन कायम गर्दै व्यवस्थित गरिने प्रष्ट पार्नुभयो ।

‘नीजि गुठीको हकमा यो नै यसको समाधान हो भनेर तपाइहरूले ल्याएको कुरा नै हामी ओके गरेर जान्छौ । बाँकी गुठी संस्थानले हेरेका गुठीका हकमा तपाइहरूले धेरै चासो नदिनुहोला, सरकार गुठीको सम्पत्ति जोगाउने अभियानमा छ। सुशासन कायम गर्ने अभियानमा राज्य हो । यो जनता राष्ट्रकै निम्ती फाइदा हुने कुरा हो,’ मन्त्री अर्यालले भन्नुभयो । उहाँले गुठीको समस्या अब लामो समय नरहने जनाउ दिँदै छिट्टै सरकारले यसको समाधान गर्ने बताउनुभयो ।

विगतको गुठी विधेयकमा पनि गुठी संस्थानले हेरेको ३ वटा गुठी व्यवस्थित गर्ने कुरामा मन्त्रालय केन्द्रित भएको भन्दै उहाँले नीजि गुठी नीजि गुठियाराकै सम्पत्ति भएको सरकारको भनाई राख्नुभयो । ‘सरकारले नीजि गुठियाराको हक समाप्त गर्न खोजेका थिएनौ । नीजि गुठिलाई सरकारले हस्तक्षेप गर्ने थिएन, तात्कालिन प्रस्तावित गुठी ऐनको कुनै भाषाले तपाइहरूलाई त्रशित बनाएको रहेछ भने हामी जतिखेर पनि सच्याउन तयार नै थियौं,’ उहाँको भनाई थियो । त्यस अवसरमा ध्यानाकर्षणपत्र बुझाउदै गुठी विधेयकविरुद्ध एकीकृत आन्दोलनका संयोजक डा.महेशमान शाक्यले यसपटक विधेयक ल्याउन सरोकारवाला सबैसँग छलफल गरेर मात्र अगाडी बढ्न आग्रह गर्नुभयो ।