जनता टाइम्स

१९ मंसिर २०७६, बिहीबार १९:५०

उम्मेद्वार जसरी नै घरदैलोमा बिद्या भट्टराई आएपछि..


पोखरा, मंसिर १९ । मंसिर १४ गते सम्पन्न निर्वाचनमा कास्की २ बाट निर्वाचित नेकपाकी नेतृ बिद्या भट्टराई अधिकारी उम्मेद्वार जसरी नै धन्यवाद दिन मतदाताको घरदैलोमा पुग्नुभएको छ । बिजयलगत्तै मतदातालाई धन्यवाद दिन घरदैलोमा जानुभएकी भट्टराईले यो क्रम अझै जारी राख्नुभएको छ ।

विजययात्रासहित निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर धन्यवाद दिन घरदैलामा पुग्नुभएका नेता भट्टराईले जनताको इच्छा, आकांक्षा एवं सुझाव शिरोधार्य गर्दै आफूले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न कटिबद्ध भएर लाग्ने बताउनु भयो । समृद्ध नेपाल सुखी नेपाली का अभियानकर्मी आफ्ना पति स्वर्गीय रवीन्द्र अधिकारीले देखेका सपना पूरा गर्न पार्टीले आफूलाई उम्मेदवार बनाएको उहाँले बताउनु भयो । मतदाताको प्रगाढ माया र भरोसाको उच्च कदर गर्दै आफू अगाडि बढ्ने उहाँको भनाई छ ।

निर्वाचित भएलगत्तै निर्वाचन क्षेत्रका विभिन्न वडाका बासिन्दासमक्ष धन्यवाद दिन पुग्नुभएका बिद्यालाई फूमालाले स्वागत गर्दै स्थानीयवासीले समृद्ध कास्कीको सपना पूरा गर्न सुझाव दिएका छन । आज पोखरा–१७ महतगौँडामा धन्यवाद दिन पुग्नुभएका भट्टराईलाई स्थानीयवासी ९१ वर्षीय चन्द्रकान्त भण्डारीले फूलको गुच्छाले स्वागतसहित आशीर्वाद दिँदै निर्वाचनका अवसरमा गरिएका प्रतिबद्धता पूरा गर्नेतर्पm कटिबद्ध भएर लाग्न सुझाउनुभयो ।

मुलुकका ज्येष्ठ नागरिक, महिला एवं समाजका विपन्न वर्गको हितसँगै विकास निर्माणमा जुटन आग्रह गर्दै उहाँले राज्यले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ता सर्वसुलभरुपमा उपलब्ध गराउन अनुरोध गर्नुभयो । स्थानीयवासी ७२ वर्षीया तारा भण्डारीले गहभरि हर्षका आँशु झार्दै सांसद भट्टराईलाई समग्र महिलाको नेतृत्व गरी मुलुकको उच्च पदमा पुग्नका लागि बाटो खुलेको बताउनुभयो । स्वागतका लागि हातमा फूलको माला लिएर लामबद्ध स्थानीय बासिन्दाको बीचबाट निस्केर भट्टराईलाई अङ्कमाल गर्दै उहाँले यस क्षेत्रका जनताको दुःखसुखको सारथि बन्न आग्रह गर्नुभयो ।

पोखरा १७ विरौटाचोकबाट आज बिहान शुरु भएको विजययात्रामा भट्टराईले मतदातालाई अभिवादन गर्दै छोरेपाटन, हिमालय आँखा अस्पतालचोक, घारीपाटनचोक, रातोपैह्रा, महतगौँडा, लामातरा, दोबिल्लासहित डेमसाइडलगायतका क्षेत्र पुग्नुभएको थियो । पोखरा महानगरका ११ वटा वडालाई समेटिएको निर्वाचन क्षेत्रका सबै वडाका बासिन्दासमक्ष पुगेर धन्यवाद प्रदान गरिने कार्यक्रम तय गरिएको छ ।