जनता टाइम्स

१९ मंसिर २०७६, बिहीबार २०:१७

‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवन निर्माण हुने, मेयर शाक्यले गरे शिलान्यास


काठमाडौं, मंसिर १९ । स्वर सम्राट स्वर्गीय नारायण गोपालको सम्झनामा ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवन निर्माण हुने भएको छ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवनको आज काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले शिल्यान्यास गर्नुभयो ।

करीब ६ करोडको लगानीमा बन्न लागेको सो भवनको शिल्यान्यास गर्दै मेयर शाक्यले आफू निर्वाचित भएर आएको वर्षदेखि नै स्वर सम्राट नारायणगोपालको सम्झनामा भवन निर्माण गर्ने इच्छा भए पनि प्रक्रियामा अघि बढ्दा केही ढिला भएको भन्दै भवनको शिलान्यास गर्न पाउँदा खुशी लागेको बताउनुभयो । ‘हामीले यो आर्थिक वर्षका लागि ‘नारायण गोपाल पेमला सुरमय गीत–गंगा’ भवन निर्माणका लागि रु तीन करोड विनियोजन गरेका छौँ,’ मेयर शाक्यले भन्नुभयो, ‘तपाईँहरुले निर्धारित समयमै काम सम्पन्न गर्नुहोला आवश्यक रकम महानगर दिन तयार छ । बजेटको चिन्ता नलिनु होला । यहाँ व्यवस्थापन गर्ने र समयमा काम सम्पन्न गर्ने कुरामा लाग्नुहोला ।’

मेयर शाक्यले भवन निर्माणका लागि जति रकम लागे पनि महानगपालिका सहयोग गर्न तयार रहेको प्रष्ट पार्नुभयो । ‘जताले मात्र होइन राज्यले समेत सम्मान गरेको व्यक्तिको सम्झनामा सहयोग गर्न पाउनु हाम्रा लागि ठूलो अवसर पनि हो,’ मेयर शाक्यले भन्नुभयो, ‘महानगरपालिका श्रष्टाहरुको सम्मानमा कुनै कन्जुस्याई गर्दैन । हामीले स्वर्गीय गायिका तारादेवीको नाममा अक्षयकोष स्थापनाका लागि १० लाख दिने घोषणा गरेका छौँ । त्यो पूरा गरेका छौँ ।’

मेयर शाक्यले धेरै बोल्ने थोरै गर्ने भन्दा पनि धेरै गर्ने थोरै बोल्ने भन्दै बोलेका काम पूरा गरेरै छाड्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । ‘मिडियामा धेरै आउने र धेरै बोल्ने मेरो बानी छैन । थोरै बोल्ने धेरै काम गर्ने कुराप्रति मेरो बढी रुची छ । बोलेका कामलाई दत्तचित्त भएर लाग्ने र पूरा गर्ने गरी लाग्छु,’ उहाँले भन्नुभयो, ‘नारायण गोपालको २९ औँ स्मृति दिवसका अवसरमा आज यो भवन शिलान्यास गर्ने कुरा आफैँमा खुशीको कुरा हो ।’ उहाँले नारायण गोपालका जन्मस्थान किलागलमा हरेक वर्ष इन्द्रजात्राका बेला देवी नाच गर्ने चलन रहेको भन्दै त्यहाँ पनि भवन निर्माणका लागि एक करोड आर्थिक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

‘काठमाडौँ महानगरपालिका कला, संस्कृति र सम्पदा बाउने अभियानमा निरन्तर लागिरहन्छ भन्ने यी उदाहरणहरु हुन्,’ उहाँले भन्नुभयो, ‘संस्कृति र सम्पदालाई हामी पर्यटनसँग पनि जोडेर अभियान अघि बढाउँछौँ ।’ उहाँले आफू निर्वाचित भएर आएपछि मूख्य गरेर पुर्वाधार निर्माणका कामलाई बढी प्राथमिकतामा राखेको बताउनुभयो । ‘हामीले पूर्वाधार निर्माणसँगै सामाजिक र साँस्कृतिक कामलाई पनि प्राथमिकतामा राखेका छौँ । हामीले निर्वाचित भएपछि हाम्रो कार्यकाल भित्र यहाँका बहाः बही, चैते, मन्दिर, पार्टी, पौवा जे जति छन् सबै पूर्ननिर्माण गर्छौ भनेर घोषणा नै गरेका छौँ । त्यो हामी पूरा गरेरै छाड्छौँ,’ उहाँले भन्नुभयो । उहाँले महानगरपालिकाको मात्र कोषले नपुगे प्रदेश र केन्द्र सरकारको सहयोगमा पनि ती काम सम्पन्न गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले हरेक वडामा कम्तीमा एउटा पार्क बनाउने गरी महानगरपालिका अघि बढेको भन्दै अहिले धेरै काम अघि बढेको पनि बताउनुभयो । उहाँले अहिले कम्तीमा आठ–दश ओटा पार्कको खरिद प्रक्रिया नै अघि बढिसकेको बताउनुभयो । कार्यक्रममा बोल्दै सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पनि काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नारायण गोपालका स्मृतिमा भवन बन्ने कुराले आफू उत्साहित भएको बताउनुभयो । काठमाडौँ महानगरपालिका वडा नम्बर तीनअध्यक्ष समेत रहनु भएको नारायणगोपाल संगीत कोषका महासचिव दिपक केसीले पनि निकै ठूलो प्रयास पछि यो सम्भव भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

यो भवनको पहिलो चरणमा तीन तला सम्पन्न हुने भन्दै केसीले एक तला भूमिगत सहित पाँच तला रहने बताउनुभयो । ‘पहिलो चरणको काम हामी २०७७ असार १५ भित्रमा सम्पन्न गर्छौ उहाँले भन्नुभयो, ‘यो पूरै सम्पन्न गर्दा करीब ६ करोड लाग्ने अनुमान गरेका छौँ ।’ प्रस्तावित भवनको भूमिगत तलामा चारओटा गाडीसहित मोटर साइकलको पार्किङ हुनेछ । पहिला तला संगित कक्षा र प्रशासन रहने छ भने दोस्रो तला संगित कक्षा र पुस्तकालय रहने छ । तेस्रो तलामा करीब ८० जनासम्म कार्यक्रम गर्न मिल्ने संयुक्त थियटर रहने छ । भवन अपाङ्गमैत्री हुनेछ ।