जनता टाइम्स

२० मंसिर २०७६, शुक्रबार १३:३१

प्रहरीले अझै लिन पाएन बलात्कार आरोपी सिद्धबाबासँग बयान, एम्बुलेन्समा राखेर लगियो अदालत


सुनसरी, मंसिर २० । आश्रममा आएकी अनुयायीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णदासजी महाराजको नाटकपछि एम्बुलेन्समा राखेर अदालतमा लैजान प्रहरी बाध्य हुनुपरेको छ । सिद्धबाबाविरुद्ध अनुसन्धान अघि बढाउन आज प्रहरीले दोस्रो पटक म्याद थपका लागि एम्बुलेन्समा राखेर अदालत लगेको हो ।

सुनसरी जिल्ला अदालतबाट म्याद थप गर्न उपचाररत विराटनगरको विराट नर्सिङ होमबाट सिद्धबाबालाई एम्बुलेन्समा राखेर ल्याइएको हो । विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालको को १ च ४०७३ नम्बरको एम्बुलेन्समा राखेर उनलाई आज बिहान ११ बजे सुनसरी जिल्ला अदालततर्फ ल्याइएको प्रहरीले जनाएको छ । बलात्कारको अभियोग लागेलगत्तै उनी बिरामी बनेर अस्प्ताल भर्ना भएका थिए ।

आईसीयूबाट ह्वीलचेयरमा ल्याएर उनलाई एम्बुलेन्समा राखिएको थियो । यही मंसिर १६ गते उनीविरुद्ध अनुसन्धान गर्न प्रहरीले अदालतबाट पहिलो पटक चार दिनको म्याद थप पाएको थियो । पहिलो म्यादको समयसीमा सकिएपछि थप अनुसन्धानका लागि दोस्रो पटक म्याद थप गर्न अदालत ल्याइएको हो ।

सुनसरीको चतरा धामस्थित आफ्नो आश्रममा लगेर कात्तिक पहिलो साता एक महिलालाई बलात्कार गरेको अभियाग लागेपछि प्रहरीले अस्पतालबाटै पक्राउ गरेको थियो । सिद्धबाबाको असहयोगका कारण बलात्कार आरोपमा अनुसन्धानका लागि अहिलेसम्म प्रहरीले कुनै पनि बयान समेत लिन सकेको छैन ।