जनता टाइम्स

२० मंसिर २०७६, शुक्रबार १४:१६

आसामबाट उद्धार गरिएको चेलीलाई नेपाल ल्याउन महिलामन्त्री गुरुङको पहल, दिए यस्तो निर्देशन


काठमाडौं, मंसिर २० । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले भारतको आसाममा उद्धार गरिएका नेपाली बालिकालाई नेपाल ल्याउनका आवश्यक सवै काम तत्काल गर्न निर्देशन दिनुभएको छ । केही समय अघि आसामको कोठीबाट उद्धार गरिएका ६ जना नेपाली बालिकाहरुलाई नेपाल ल्याउनका लागि आवश्यक शिघ्रता नभएको भन्दै शक्ति समुहका पदाधिकारी मन्त्रालयमा आइपुगेपछि मन्त्री गुरुङले सम्बन्धित महाशाखाका सहसचिवलाई यति संवेदनशील बिषयमा गम्भीर बनेर तत्कालै आवश्यक काम गर्न निर्देशन दिनुभएको हो ।

आसाममा उद्धार कार्यमा संलग्न शक्ति समुहका पदाधिकारीले आज मन्त्रालयमै मन्त्री गुरुङसँग भेटी भारतका बिभिन्न कोठीबाट उद्धार गरिएका नेपाली बालिकाहरुलाई नेपाल ल्याउन ठुलै समस्या भएको भन्दै नीतिगत रुपमा सम्बोधन गर्न पनि आग्रह गरेका थिए । उनीहरुको भनाई सुनेपछि मन्त्री गुरुङले आसाममा उद्धार गरिएका बालिकाहरुलाई बिना ढिलाइ नेपाल ल्याउन मन्त्रालयको तर्फबाट गर्नुपर्ने सवै काम तत्कालै अघि बढाउन निर्देशन दिनुभयो । ‘बिगतमा किन र कसरी काम ढिलाइ हुन्थ्यो, त्यतातिर लागेर अव पनि काममा ढिलाई गर्ने कुरा नहोस भन्दै मन्त्री गुरुङले मानव बेचबिचनमा परेको चेलीको उद्धारपछि पनि स्वदेश फर्काउन थप बिलम्ब आफूलाई स्वीकार्य नभएको बताउनु भयो ।

‘मानव बेचबिखन मुलुकको लागि कलंक हो । त्यसमाथि पनि जसरी हाम्रा चेलीहरु बेचबिखनमा परिरहेका छन, यसले हामीलाई लज्जित तुल्याउँछ । उद्दार गरिएकाहरुलाई स्वदेश फिर्ती गराउने सन्दर्भमा सरकार अभिभावक बन्छ भन्ने सन्देश सवैतिर पुग्ने गरी अव काम हुनुपर्छ,’ मन्त्री गुरुङले भन्नुभयो, ‘हिजो के भयो भन्नेतिर नजाउँ तर अब बेचिबखन प्रभावितको अभिभावकत्व हामी लिन्छौं । राज्यको दायित्व हो । स्वदेश फिर्तीमात्र होइन, यहाँ पुनस्र्थापना गराउनुपर्ने दायित्व पनि छ । यस्का लागि कानुन, ऐन र कार्यविधीहरुमा के समस्या छन् भने सरोकारवालासँग बसेर छलफल गर्न हामी तयार छौं ।’

उहाँले कुनै ऐन संशोधन गर्नुपर्ने वा बनाउनुपर्नेछ भने पनि छलफल गरेर निश्कर्षमा पुग्न सकिने बताउनु भयो । उहाँले सरोकारवालाहरुसँग सहकार्य गरेरै आवश्यक ऐन कानून निर्माणका लागि सरकार लागेको जानकारी पनि दिनुभयो । शक्ति समुहले केही समय अघि आसामबाट ६ जना नेपाली चेलीको उद्धार गरेको थियो ।