जनता टाइम्स

२७ बैशाख २०७६, शुक्रबार १९:३८

नेपाल आउने भो रेल : भारतसँग भयो खरिदको सम्झौता


काठमाडौं, वैशाख २७

दुई सेट रेल खरिद गर्न रेल विभाग र भारतको सरकारी कम्पनी कोंकण रेलवेज कर्पोरेशन लिमिटेडबीच सम्झौता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार नेपाल र भारतका उच्च सरकारी अधिकारीहरुको उपस्थितिमा खरिद सम्झौता भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसूदन अधिकारीका अनुसार सम्झौतामा २ सेटमध्ये पहिलो सेट ३ महिनाभित्र उपलब्ध गराउने भनिएको छ ।

‘सम्झौता भइसकेपछि उक्त कम्पनीले अग्रिम बैंक ग्यारेन्टी राख्नु पर्ने हुन्छ, त्यसपछि हामीले अग्रिम भुक्तानी स्वरुप पेश्की दिनु पर्ने हुन्छ’, सचिव अधिकारीले भन्नुभयो । पेश्की दिएको मितिबाट १ सय २० दिनभित्र रेलको सेट ल्याउनुपर्ने सम्झौता भएको छ । दोस्रो सेट रेल खरिदका लागि पेश्की रकम दिएको १ सय २० दिनमा उपलब्ध गराउनु पर्ने हुन्छ । भारतीय कम्पनीले रेलको सेट पठाएपछि सञ्चालनमा ल्याइने छ ।

विभागका सिनियर डिभिजनल इन्जिनियर एवं प्रवक्ता अमन चित्रकारका अनुसार जनकपुर–जयनगर खण्डमा रेल सञ्चालनका लागि सेट खरिदको सम्झौता भएको हो । उहा अनुसार पहिलो सेट ३ देखि ४ महिना भित्रमा आउने छ । दोस्रो सेटका लागि भने केही समय लाग्ने छ । रेलको एक सेटमा पाँच वटा डिब्बा रहने छ । ति डिब्बामा एकपटकमा करिब १३ सय यात्रु अटाउने छन् । सरकारले रेलको सेट खरिदका लागि गत चैत्रमा विभागलाई स्विकृत दिएको थियो ।

मन्त्रिपरिषद्‌ले निर्णय गरी ८४ करोड ६५ लाख खर्चिएर खरिद गर्न सरकारले स्विकृत दिएको हो । भारतको जयनगरबाट कुर्तासम्म ३४ किलोमिटर छ । पहिलो सेट यही सञ्चालनमा आउने छ । कुर्तासम्म रेलको लिकलाई ब्रोडगेजमा स्तरोन्नती गरी सकिएको विभागले जनाएको छ । यो वर्ष कुर्तासम्म रेल सञ्चालन हुने छ ।