जनता टाइम्स

२९ बैशाख २०७६, आईतवार ०८:२५

हावाहुरीसहित वर्षाको सम्भावना


आइतबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आइतबार र सोमबार पश्चिमका थोरै स्थानमा र मध्य तथा पूर्वका धेरै स्थानमा हावाहुरी र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार साँझपख पश्चिमका केही भूभागसहित मध्य र पूर्वी भूभागमा हावाहुरीसहित पानी पर्ने सम्भावना भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । पश्चिमी वायुको प्रभावका कारण मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना भएको हो ।

यस्तै आइतबार बेलुका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको पनि मौसमविद् बासीले बताउनुभयो । तर ठूलो हिमपातको सम्भावना नभएकाले आत्तिहाल्ने अवस्था नभएको तर हिमाल आरोहणमा जाने पर्यटकले केही सावधानी भने अपनाउनुपर्ने उहाँले बताउनुभयो । नेपालगञ्जको तापक्रम शनिबार यो वर्षकै सबैभन्दा धेरै ४३ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो । आइतबार भने नेपालगञ्जसहित देशभरकै तापक्रम केही घट्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।