जनता टाइम्स

२९ बैशाख २०७६, आईतवार १०:१५

झापामा अन्तर्राष्ट्रिय वोडो मेचे साहित्य एवं सांस्कृतिक सभा शुरु


भद्रपुर, बैशाख २९

झापामा अन्तर्राष्ट्रिय वोडो मेचे साहित्य एवं सांस्कृतिक सभा शनिबारबाट शुरु भएको छ । लोपोन्मुख मेचे जातिको संस्कार, संस्कृति, भाषा र लिपिको जगेर्ना गर्ने उद्देश्यले मेचीनगरस्थित धुलाबारीमा आयोजित सभाको प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको छ ।

उहाँले लोपोन्मुख मेचे जाति र समुदायको संरक्षण, उत्थान र विकासको दायित्व प्रदेश सरकारको भएको बताउनुभयो । नेपालमा रहेका १२५ जातजातिमध्ये ११६ जातिको बसोवास प्रदेश नं १ मै रहेको बताउँदै उहाँले भन्नुभयो, “प्रदेशको नीति, कार्यक्रम बनिरहेको छ, आगामी बजेटमा मेचे जातिको उत्थानको लागि विशेष ढङ्गले सम्बोधन हुनेछ ।”

यस सभाले मेचे समुदायको संस्कार, संस्कृति, भाषा र लिपिबारे ऐतिहासिक दस्तावेज तयार हुने विश्वास लिएको मुख्यमन्त्री राईले बताउनुभयो । अहिलेसम्म मेचे समुदायको उत्पत्ति, भाषा, लिपि, संस्कार, संस्कृति र परम्परागत रीतिथितिको बारेमा कहीँकतै दस्तावेजसमेत नभएको हुँदा यसको ऐतिहासिक दस्तावेज तयार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष कमल मेचेले बताउनुभयो ।

अधिकांश मेचे समुदायको बसोबास झापामा रहेको छ । उनीहरुको जनसङ्ख्या साढे चार हजारको हाराहारीमा रहेको बताइएको छ । कार्यक्रममा भारतको आसाम, नागाल्याण्डलगायतका स्थानबाट समेत मेचे समुदायको साहित्यकार, राजनीतिज्ञलगायतको उपस्थिति रहेको छ । सभा आज समापन हुनेछ ।