जनता टाइम्स

२ पुष २०७६, बुधबार १३:३७

बहुउद्देश्यीय कभर्डहल सञ्चालनमा


खोटाङ, पुस २

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारस्थित माटिकोरेमा बहुउद्देश्यीय कभर्डहल सञ्चालनमा आएको छ । रु एक करोड ६० लाख ३६ हजार ९२९ लागतमा करीब आठ वर्षमा सो हल निर्माण सम्पन्न भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले मङ्गलबार संयुक्त रुपमा हलको शुभारम्भ गर्नुभयो ।

हल ८१ फिट लम्बाइ, ५७ फिट चौडाइ र ३५ फिट उचाइको रहेको जनाइएको छ । विसं २०६८ मा निर्माण शुरुआतसंगै बजेट अभाव भएपछि अलपत्र बनेको हल निर्माण कार्य अगाडि बढाउन नगरपालिकाले आर्थिक तथा प्राविधिक सहयोग गरेको उपभोक्ता समितिका अध्यक्ष कुमार आचार्यले जानकारी दिनुभयो । हलमा प्रदेश नं १ अन्तर्गत नगरपालिकास्तरीय ब्याडमिन्टन प्रतियोगितासमेत शुरुआत भएको छ ।

जिल्लामा खेल क्षेत्रको विकास गर्न कभर्डहल अतिआवश्यक रहेकाले निर्माणमा सहयोग गरिएको नगरप्रमुख रिजालले बताउनुभयो । “कभर्डहल अभावमा यसअघिसम्म जिल्लामा एउटा पनि आन्तरिक खेलकूद गर्न सकिएको थिएन” उहाँले भन्नुभयो, “आगामी दिनमा फुटबल र क्रिकेटबाहेक सबै किसिमको खेल खेल्न मिल्नेगरी कभर्डहल निर्माण गरिएको हो ।” हलमा भलिबल, बास्केटबल, ब्याटमिन्टन, टेबलटेनिस, कबड्डी, डण्डिबियो, सितोरियो कराते, तेक्वान्दोलगायतका खेलका प्रतियोगिता गर्न सकिने जनाइएको छ ।

हलमा आमसभा, गोष्ठी तथा बैठकसमेत गर्न मिल्नेगरी एक हजार बढी मानिस अट्ने क्षमता रहेको छ । सो हल पूर्वी पहाडी जिल्लाकै सबैभन्दा व्यवस्थित भएको दाबी गरिएको छ । तत्कालीन प्रहरी नायब उपरीक्षक (हाल प्रहरी वरिष्ठ उपरीक्षक) टेकबहादुर तामाङको पहलमा जनश्रमदान र चन्दा सङ्कलनबाट निर्माण शुरुआत भएको थियो । करीब रु १२ लाख चन्दा सङ्कलन गरिएको थियो ।