जनता टाइम्स

५ पुष २०७६, शनिबार १०:३६

मुशर्रफबिरुद्ध मृत्युदण्डको सजाय तोक्न न्यायाधीशमाथी कारवाहीको तयारी


काठमाडौं, पुष ५

पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफबिरूद्ध मृत्युदण्डको सजाय तोक्ने न्यायाधीशलाई सरकारले हटाउने तयारी गरेको छ । केही दिनअघि मुशरर्फलाई ती न्यायाधीशको नेतृत्वको इजलासले मृत्युदण्डको सजाय तोकेको थियो । न्यायाधीशहरुको तीन सदस्यीय बेञ्चले २–१ को बहुमतले मृत्युदण्डको फैसला सुनाएको थियो । यसमा पेशावर उच्च अदालतका चीफ जस्टिस वकार अहमद सेठ, सिंघ हाइकोर्टका न्यायाधीश नजर अकबर र लाहोर हाइकोर्टका न्यायाधीश शाहिद करीम थिए ।

१६७ पृष्ठ लामो यस फैसलामा सजायअघि यदि मुशर्रफको मृत्यु भयो भने पनि उनको शव घसिटेर ल्याउन र शवलाई तीन दिनसम्म फाँसीमा झुन्ड्याउन भनिएको छ । उच्च अदालतमार्फत यस्तो फैसला सुनाउने न्यायाधीशलाई पाकिस्तान सरकारले नै मानसिक अस्वस्थ भन्दै हटाउने तयारी गरेको हो । त्यसका लागि पाकिस्तान सरकारले सर्वोच्च न्यायिक काउन्सिलमा अपील गर्ने बताएको छ । पाकिस्तानमा उच्च अदालत र सर्वोच्च अदालतको न्यायाधीश हटाउन सर्वोच्च न्यायिक काउन्सिल एक मात्र अधिकृत निकाय हो ।

जागरण डट कममा प्रकाशित समाचारअनुसार फैसलापछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो कानुनी टोलीसँग तत्काल परामर्श लिएका थिए । परामर्शमा प्रधानमन्त्री खानले अदालतको फैसला सही नभएको निश्कर्ष निकालेका थिए । मृत्युदण्डको फैसलालगत्तै पाकिस्तानी कानूनमन्त्री फारग नसीमले भनेका छन्, ‘यो फैसलाले न्यायाधीश सेठ मानसिक अस्वस्थ रहेको देखाउँछ ।’

यदि मुशर्रफ मरे पनि उनको शरीरलाई फाँसी दिइनुपर्छ भन्ने सजाय पाकिस्तानको कुनै पनि कानूनको बिरूद्धमा छ ।’ नसीमले भने, ‘संघीय सरकारले सर्वोच्चमा जाने निर्णय गरेको छ, किनभने सरकार विश्वास गर्दछ कि त्यस्ता व्यक्तिहरू कुनै पनि उच्च अदालत वा सर्वोच्च अदालतको न्यायाधीश हुन सक्दैनन्।’ पाकिस्तानमा कुनै सैन्य शासकलाई मृत्युदण्डको सजाय सुनाइएको यो पहिलो अवसर हो । ७६ वर्षीय मुशर्रफ यतिबेला दुबईमा रहेका छन् । उनको त्यहाँ स्वास्थोपचार भइरहेको छ ।