जनता टाइम्स

२९ बैशाख २०७६, आईतवार १४:१०

सार्वजनिक शिक्षाले वर्गको अन्त्य गर्नुपर्छ : मन्त्री पोखरेल


झापा, बैशाख २९

विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको अवधारणा अघि सारिएको बताउनुभएको छ । उहाँले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै शिक्षालाई विज्ञान र प्रविधिसँग जोड्न सरकार लागि परेको स्पष्ट पार्नुभयो ।

आज विर्तामोड–५ मा महेन्द्ररत्न माविको नमूना विद्यालयको शिलान्यास गर्दै मन्त्री पोखरेलले शिक्षामा छलफल, सुधार र क्रान्तिको आवश्यकता औंल्याउनुभयो । ‘नमूना विद्यालयको मूल उद्देश्यलाई आत्मसात गर्न जरुरी छ’ उहाँले भन्नुभयो, ‘सार्वजनिक शिक्षाले वर्गको अन्त्य गर्नुपर्छ ।’

देश कता जाने त्यसको फैसला सार्वजनिक शिक्षाले गर्ने बताएका मन्त्री पोखरेलले सामुदायिक विद्यालयलाई आशा र भरोसाको केन्द्र बनाउन नमूना विद्यालयको अवधारणा अघि सारिएको उहाँले दोहोर्याउनुभयो । सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको भौतिक संरचना गौण भएको उल्लेख गर्दै मन्त्री पोखरेलले शिक्षण सिकाइले नमूना हुनुपर्यो शिक्षालाई पैसा कमाउने उद्योगका रुपमा बुझ्ने गलत चिन्तन अन्त्य हुनुपर्ने उहाँको तर्क छ ।

‘विद्यालयले नै शिक्षामा विभेद गरेको छ , अब त्यसको अन्त्य गर्नुपर्छ’ उहाँले थप्नुभयो, ‘अङ्ग्रेजी पढाउने लोभमा विद्यार्थीलाई बिगार्ने काम भएको छ सबै विद्यालयमा नेपाली विषय पनि पढाइ हुनुपर्छ ।’ अङ्ग्रेजी पढ्न जानेका भरमा सबै युवा युरोप र अमेरिका पुगेका छन् त्यस्तो परम्पराको अन्त्य हुनुपर्छ मन्त्री पोखरेलले भन्नुभयो, ‘अङ्ग्रेजी जानेका भनिएका सबै युवा विदेश जाने र उतै पलायन हुने हो भने देश कसरी समृद्धिको बाटोमा जान्छ’ उहाँले प्रतिप्रश्न गर्नुभयो ।

मन्त्री पोखरेलले सिकाइ भनेको पढ्नु मात्र होइन खेलेर पनि नाम राख्न सकिन्छ भन्ने प्रमाणित भइसकेको बताउँदै विद्यार्थीले जे विषयमा अध्ययन गर्न चाहन्छ सोही विषयको शिक्षा दिन जरुरी रहेको बताउनुभयो ।