जनता टाइम्स

१८ पुष २०७६, शुक्रबार ११:१५

अमेरिकामा अध्ययनरत एक नेपाली युवाको मृत्यु


न्युयोर्क, पुष १८

अमेरिकामा अध्ययन गर्दै आएका एक नेपाली युवाको मृत्यु भएको छ । रौतहट स्थायी घर भएका २२ वर्षीय हिमाल तिमल्सिनाको म्यासाचुसेट्स राज्यको स्टोनहृयाममा मृत्यु भएको हो ।

नयाँ वर्षकै दिन उनको निधन भएको हो । नेपाली साथीहरुसँग बस्दै आएका तिमल्सिनाको गत सोमबार आफनै निवासको सिँढीबाट लडेर टाउकोमा गम्भीर चोट लागेको थियो ।

स्थानीय वर्लिगटनको‘ लेही हस्पिटल एण्ड मेडिकल सेन्टरमा उपचारकै क्रममा उनको मृत्यु भएको बोस्टनस्थित ग्रेटर बोस्टन नेपलिज कम्युनिटीले जनाएको छ । पोष्टमार्टमका लागि उनको शवलाई बोस्टन लगिएको छ । ग्रेटर बोस्टन नेपलिज कम्युनिटीले मृतकको अन्त्येष्टिका लागि गोफन्डमा रकम संकलनको कार्यसमेत थालेको छ ।

सन २०१४ मा स्नातक तहको शिक्षाका लागि अमेरिका आएका तिमल्सिना, म्यासेच्युष्ट राज्यको क्वीन्सी कलेजमा अध्ययनरत थिए । आंशिक रुपमा उनी स्टोनहृयामकै एक रेस्टुरेन्टमा समेत काम गर्दै आएका थिए ।