जनता टाइम्स

३० बैशाख २०७६, सोमबार १५:२९

राष्ट्रपतिद्धारा जानकी जन्ममहोत्सवलाई सम्बोधन : पुण्यभूमि जनकपुर विश्वका लागि नै प्रेरणाको स्रोत हो


जनकपुरधाम ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी महोत्सवले नेपालको सामाजिक सांंस्कृतिक समन्वय, राष्ट्रिय एकता र राष्ट्रिय अखण्डतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

जानकी नवमीका अवसरमा जानकी मूल समारोह समितिद्वारा आज जनकपुरधामको जानकी मन्दिरमा आयोजित जानकी जन्ममहोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मौलिक मिथिला कला, कालिगढी र संस्कृतिको उत्कृष्ट नमूनाका रूपमा विश्वविख्यात जानकी मन्दिरको अवलोकनसहित पूजार्चना र दर्शनले आफ्नो मन प्रसन्न भएको छ भन्नुभयो ।

प्राचीन मिथिलाको राजधानी सीताको जन्मभूमि ऐतिहासिक पुरातात्विक नगरीस्थित नौलखा मन्दिर परिसरमा आयोजित उत्सवले ‘बसुधैव कुटुम्बकम’को भावना थप सुदृढ पार्न मद्दत मिल्ने विश्वास व्यक्त गर्दै उहाँले संस्कृति र परम्पराको संरक्षण तथा सम्बद्र्धन सबैको कर्तव्य र पुर्खाले सुम्पिएको महत्वपूर्ण दायित्व भएकामा जोड दिनुभयो । उहाँले भन्नुभयो,” यो पुण्यभूमि जनकपुर जहाँबाट विदेह राजर्षि जनक तथा महर्षि अष्टाबक्रले ज्ञानको ज्योति तथा शान्ति र सहिष्णुताको सन्देश फैलाए यसको महत्व चिरकालसम्म रहिरहने छ ।“

राष्ट्रपति भण्डारीले यस क्षेत्रका ज्ञानी महर्षिहरूले दिएको ज्ञानको महत्व आज पनि उत्तिकै र यसलाई अनुसरण गर्न सकियो भने समाजमा देखिएका धेरै समस्या सजिलैसँग समाधान गर्न सकिने बताउनुभयो । उहाँले प्राचीनकालमै शिक्षा र सभ्यतामा अग्रणी रहेको यस क्षेत्रमा कतिपय सामाजिक विकृति, विभेद र विसङ्गति विद्यमान हुनु चिन्ताको विषय हो भन्दै यसको अन्त्यका लागि हामी सबै क्रियाशील हुनु सामयिक रहेको स्मरण गराउनुभयो ।

उहाँले गार्गी, मैत्रेयी अनुसूयाजस्ता विदुषीहरूको जन्मभूमि, कर्मभूमि एवम् तपोभूमिको रूपमा रहेको यो पावन क्षेत्र विश्वका लागि प्रेरणा स्रोत र जानकी मन्दिर मुलुकको ऐतिहासिक सांस्कृतिक धरोहर हो भन्नुभयो । उहाँले वेदहरूको उद्गमस्थल यस पवित्र सांस्कृतिक पर्यटकीय क्षेत्र समृद्ध संस्कार र संस्कृतिका लागि अनुपम रहेको बताउनुभयो । मैथिली साहित्यका मूर्धन्य व्यक्तित्व ज्योतीश्वर ठाकुर र महाकवि विद्यापतिको योगदानको स्मरण गर्दै मैथिली भाषा तथा साहित्यको श्रीवृद्धि तथा समृद्ध निकाय थप कटिबद्ध हुनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रपति भण्डारीले विदेह राजा जनकले कृषिकर्म महायज्ञको आयोजना गर्दा दिव्यगुणी सीताको जन्म भई विख्यात भएको यस भूमिले मुलुकको कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताउँदै अहिले यही भूमि कृषिको उत्पादन र उत्पादकत्वमा कमी आउनु दुःखको विषय भएको बताउनुभयो । उहाँले चुरे क्षेत्रको वातावरण संरक्षणमा ध्यान दिई पर्यावरण सन्तुलन कायम गर्दै दिगो विकासको अवधारणासहित कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्न यस उर्वर भूमिको प्रचूर उपयोग गर्नुपर्ने औँल्याउनुभयो ।

यहाँ अवस्थित अपार प्राकृतिक स्रोतसाधनको सदुपयोग गर्दै आर्थिक समृद्धिमा अग्रसर हुन आह्वान गर्दै राष्ट्रपति भण्डारीले राष्ट्रिय गौरव जानकी मन्दिर र यस समृद्ध भौतिक संरचना, श्रीसम्पत्ति एवं जलजमीन क्षेत्रको संरक्षण तथा सम्बद्र्धनमा सम्बद्ध जिम्मेवार निकायको ध्यान जानु आवश्यक रहेको बताउनुभयो । उहाँले सामाजिक चेतना र जागरणको महत्वपूर्ण कार्ययोजना ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ अभियान प्रभावकारी ढङ्गले अघि बढिरहेकामा प्रशंसा पनि गनुृभयो ।

सो अवसरमा भौतिक पूर्वाधार र यातायातमन्त्री रघुवीर महासेठले जानकी मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउनमा सबैको सहयोगको आवश्यकतामा जोड दिनुभयो । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीलाई राष्ट्रिय पर्व मनाउनु पर्नेमा जोड दिँदै मन्दिरको विकास गर्न प्रदेश सरकारले हरसम्भव प्रयास गर्नेछ भन्नुभयो । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जानकी नवमी मिथिलावासीका लागि महत्वपूर्ण दिन भएको बताउनुभयो ।

जगत्गुरू डा कृष्णदास महाराजले मिथिला र कौशिकी सभ्यता विश्वका सबैभन्दा प्राचीन सभ्यता भएको बताउँदै सङ्कीर्णतालाई त्याग्दै यस संस्कृतिको संरक्षण र सम्बद्र्धृनका लागि अग्रसरताको खाँचोमा जोड दिनुभयो । जानकी मन्दिरका सहायक महन्त रामरोशन दासले जानकी नवमीलाई राष्ट्रिय पर्वका रूपमा मनाउनाका साथै मन्दिरको संरक्षण र विकासका लागि सरकारी पहलको आवश्यकता छ भन्नुभयो । यसअघि राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा विशेष पूजार्चना गर्नुभएको थियो ।