जनता टाइम्स

२१ पुष २०७६, सोमबार ०७:१०

अस्ट्रेलियाको डढेलोमा मारिए पचास करोड पशुपंक्षी


सिडनी, पुुस २१ । अस्ट्रेलिया वातावरणीय संकटमा गुज्रिएको छ। तीन महिनादेखि लागेको डढेलोका कारण सयौं घरबारविहीन भएका छन भने डढेलोका कारण अहिलेसम्म झण्डै पचास करोड पशुपंक्षी जलेर मरेका छन । गाइवस्तुसँगै जंगलमा रहेका हजारौं कंगारू तथा अन्य जनावर डढेलोले सखाप बनाएको तथ्य हालै सार्वजनिक भएको हो । जसमा कीरा फट्यांग्रा बाहेक चराचुरुङ्गी समेत जोडेर ४९ करोड पशुपंक्षी आगलागीमा परेर मरेका छन्।

युनिभर्सिटी अफ सिड्नीका जैविक विविधता विज्ञ प्राध्यापक क्रिस डिकम्यानले बिबिसीलाई ४९ करोड पशुपंक्षी मारिएको तथ्यांक दिएका छन । अहिले पनि न्यु साउथवेल्स राज्यको एक सय ४६ स्थानमा डढेलो लागिरहेको छ भने कैयन् बस्तीहरु आगलागीका कारण सखाप भएका छन्। त्यति मात्र होइन डढेलो र धुवाँले अस्ट्रेलियाको वातावरण नै बिग्रिएको छ।

अहिले राजधानी क्यानबेरा, सिड्नी, मेलवर्नजस्ता शहरको हावा निकै प्रदुषित रहेको विशेषज्ञहरुले बताएका छन्। यो डढेलोले अस्ट्रेलियाको करिब ५९ लाख हेक्टर क्षेत्रफलमा प्रभाव पारेको छ। आगलागीकै कारण २३ जना अस्ट्रेलियानले ज्यान गुमाइसकेका छन् भने दुई हजार ६ सय घरहरु नष्ट भएका छन्। अझै धेरै स्थानमा यसको प्रभाव पर्ने क्रम जारी छ। एनएसडब्लु सरकारले दुई पटक संकटकाल समेत धोषणा गरेर डढेलो नियन्त्रणको प्रयास गरे पनि चर्को घामले डढेलो विस्तार हुँदै गएको छ।