Untitled Document

स्थानीय तह निर्वाचनमा जिल्ला खटिए एमाले शीर्ष नेता

काठमाडौं, असार ५- आगामी असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता भएलगत्तै एमाले नेताहरु आफ्नो गृह जिल्ला र गृहनगरमा केन्द्रित भएका छन । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित सवै शीर्ष नेताहरु उपत्यका छाडेर गृहनगर र गृह जिल्लाका मतदाता भेटघाट र पार्टीका उम्मेदवार जिताउने अभियानको नेतृत्व गरेका हुन ।

ओलीसहित एमाले नेताहरु यतिबेला जिल्लामा खटिएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताएका छन । श्रेष्ठका अनुसार अध्यक्ष ओलीदेखि स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीका सदस्यसम्म विभिन्न जिल्लामा मुकाम नै खडा गरेर पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन लागिरहेका छन । एमाले प्रचार बिभाग सचिव बिष्णु रिजालका अनुसार नेता मात्रै नभई सवै केन्द्रीय बिभागका प्रमुख, सदस्य, जनबर्गीय संगठनका पदाधिकारी पनि पार्टी उम्मेदवार जिताउन आफ्नो गृह जिल्ला र गृहनगर पुगिसकेका छन ।

सवै नेतालाई चुनावी अभियानमा पठाएर महासचिव इश्वर पोखरेल भने केन्द्रीय कमाण्ड सम्हालेका छन । महासचिव पोखरेलले केन्द्रीय कार्यालयमा रहेर सवै संयोजनको काम अघि बढाइरहेको कार्यालय सचिव श्रेष्ठले जनाए । आफ्नो जिल्लामा निर्वाचन सकेका नेताहरु अन्य प्रदेशमा सक्रिय बनेका छन भने दुई नम्बर प्रदेशका नेताहरु पनि आवश्यकता अनुसार पार्टीका कार्यक्रममा जाने योजनामा रहेको श्रेष्ठले बताए ।

अध्यक्ष ओली सोमवार गृहजिल्ला झापा पुगेका छन । ओली तीन दिन झापामै बिताएर आगामी असार ८ गते मात्रै राजधानी फर्किने कार्यक्रम रहेको उनका सहयोगी राजेश बज्राचार्यले जनाए । झापामा रहँदा ओलीले सकेसम्म सवै स्थानीय तहको चुनावी प्रचार अभियानमा समय दिने योजना बनाएका छन । ओलीले दमक, विर्तामोड, गौरादह, बुद्धशान्ति, लगायतका शहरमा आयोजित सभाहरुलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

एमाले अध्यक्ष ओलीले गृहजिल्ला झापाका सवै स्थानीय तहमा एकैपटक लहर ल्याउने गरी एमाले झापाले ७२ घन्टे कार्यक्रमसमेत सार्वजनिक गरिसकेको छ । ओली सहभागि हुने चुनावी कार्यक्रममा सहभागिता जुटाउन जिल्लाब्यापी रुपमा माइकिङ लगायतका प्रचारप्रसार भइरहेको एमाले केन्द्रीय सदस्य हिक्मत कार्कीले जानकारी दिए । अध्यक्ष ओली सोमबार काठमाडौंबाट भद्रपुर एयरपोर्ट अवतरण गरेलगत्तैबाट जिल्ला अध्यक्ष चिन्तन पाठक प्रमुखमा उम्मेदवार रहेको बुद्धशान्ति नगरपालिकाको चुनावी सभामा सहभागी हुनेछन भने साँझ विर्तामोडमा बास बस्नेछन् ।

झापामै रहेकी अनेरास्वबियकी उपाध्यक्ष सुनिता बरालले मंगलवार बिहान ६ बजेदेखि नै अध्यक्ष ओलीको दोस्रो दिनको कार्यक्रम आरम्भ हुने जानकारी दिइन । जसअनुसार ओलीले मंगलवार दमकमा ४ वटा सभालाई सम्बोधन गर्नेछन् । दमकको कार्यक्रमकै बीच ओलीले कमल गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । जहाँ पार्टीकी केन्द्रीय स्कूल् विभाग सदस्य मेनुका काफ्ले अध्यक्षकी उम्मेदवार छिन् ।

कमल गाउँपालिकाको कार्यक्रम सकेर ओलीले दमककै अन्य कार्यक्रममा सहभागिता जनाउनेछन् । मंगलवार साँझ ओलीको बास पनि दमकमै हुनेछ । यस्तै बुधवार अर्जुनधारा र मेचीनगर नगरपालिकाका कार्यक्रमहरुमा ओली दिनभर सहभागि हुने कार्यक्रम छ । बिहीबार गौरादह नगरपालिकाको चुनावी सभालाई सम्बोधन गरेर ओली पौने १ बजे काठमाडौं फर्कनेछन् । तीन दिनसम्मको झापा बसाईमा ओली सहभागि हुने कार्यक्रमको अति ब्यस्त कार्यक्रमको सुची बनाइएको हो ।

यस्तै पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनाल गृहजिल्ला इलामको निर्वाचनमा सक्रिय भएका छन । सोमबार सदरमुकाममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै खनालले आफ्नो गृहजिल्ला मात्रै नभई मधेसमा सवैतिर एमालेलेपहिलो स्थानमा बिजय हासिल गर्ने बताए । उनले एमाले पहिलो हुने डरले निर्वाचन पर सारिएको तथ्य पनि राखे । खनाल गृह जिल्लामै रहेर चुनावी अभियानलाई तीब्रता दिने उनको नीजि सचिवालयले जनाएको छ । यस्तै बरिष्ठ नेता माधवकुमार नेपालले गृहजिल्ला रौतहटमा चुनाव स्थगित भएपछि विभिन्न जिल्ला जानका लागि तयारी गरिरहेका सम्पर्क मञ्चका कार्यक्रममा ब्यस्त बनेका छन ।

नेपालले चुनाव जिताउन गर्नुपर्ने सवै तयारीबारे सम्पर्क मञ्चका नेताहरुलाई प्रशिक्षणसमेत दिइरहेका छन । उपाध्यक्ष वामदेव गौतम गृहजिल्ला प्यूठानमा चुनावी अभियानमा होमिएका छन । उम्मेदवारी चयनका बेलादेखि नै जिल्ला रहेका गौतम उम्मेदवारी दर्ताका दिन विभिन्न मतदान केन्द्रमा पुगी कार्यकर्तालाई उत्साहित पार्ने काममा सक्रिय भएका छन । उनी पूरै निर्वाचनमा प्यूठानका साथै बर्दियामा आयोजित कार्यक्रममा पनि सहभागी हुने कार्यक्रम रहेको छ ।
अर्का उपाध्यक्ष युवराज ज्ञवाली पनि आफ्नो गृहजिल्लामा चुनावी अभियानको नेतृत्व गरिरहेका छन । प्रदेश ६ मा निर्वाचन सकिएपछि उक्त प्रदेशका संयोजक तथा उपाध्यक्ष युवराज ज्ञवाली अहिले दाङमा सक्रिय बनेका हुन । अर्का उपाध्यक्ष भीम रावल प्रदेश ७ को चुनावी अभियान हाँकिरहेका छन । प्रदेश ७ प्रमुख रहेका उपाध्यक्ष रावल दुई सातादेखि सुदूरपश्चिमका जिल्लाहरुमा व्यस्त छन । सुदूरका विकट जिल्लाहरुमा आयोजित सभाहरुमा उपस्थित भएर उहाँले कार्यकर्ता पंक्तिलाई उत्साहित पार्दै कांग्रेस माओवादी गठबन्धनलाई पराजित गर्ने योजनासमेत बनाइरहेको केन्द्रीय सदस्इ तथा कैलाली इञ्चार्ज झपट रावलले बताए ।

केन्द्रीय कार्यालयमा रहेर चुनावी अभियानको अनुगमन गरिरहेका महासचिव ईश्वर पोखरेलले पनि जिल्लाको चुनावी अभियानमा जाने कार्यक्रम तय गरेका छन । पोखरेलले ७ गते ओखलढुंगा, १० गते भोजपुर र ११ गते धनगढीमा आयोजित सभालाई सम्बोधन गर्नेछन ।

बुटवल उपमहानगरपालिकाका मेयर शिवलाल सुवेदीसहितको एमाले उम्मेदवारलाई जिताउन अपिल गर्दै जुलुसमा सहभागी उपमहासचिव पौडेल

पाँच नम्बर प्रदेश संयोजक तथा उपमहासचिव विष्णु पौडेलले एक महिनादेखि रुपन्देहीलाई केन्द्र बनाएर प्रदेशको नेतृत्व गरिरहेका छन । पौडेल बुटवल र आसपासका क्षेत्रमा आयोजित सभाका साथै मतदाता भेटघाटमा ब्यस्त बनेका हुन । अर्का उपमहासचिव घनश्याम भुसाल पनि रुपन्देही आसपासमा सक्रिय छन । तिलोत्तमा नगरका मतदाता समेत रहनुभएका उहाँले त्यहाँ उम्मेदवार तथा कार्यकर्तालाई परिचालन गर्ने काम पनि भुसालले गरिरहेको एमालेले जनाएको छ ।
सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्ट पनि गृहजिल्ला गुल्मीमा आयोजित विभिन्न कार्यक्रममा ब्यस्थ बनेका छन । एक चरणको चुनावी कार्यक्रम सकेर काठमाडौँ फर्किएका सचिव ज्ञवाली अहिले दिनदिनै कार्यक्रममा व्यस्त बनेका छन भने अर्का सचिव विष्ट पनि लगातार रुपमा गुल्मीमै रहेर चुनावी नेतृत्व गरिरहेका छन । पहिलो चरणमा प्रदेश ४ सम्पन्न निर्वाचन सकेर राजधानी फर्किएका अर्का सचिव पृथ्वीसुब्बा गुरुङ प्रदेश १ को ओखलढुंगामा आयोजति विभिन्न कार्यक्रममा सहभागी हुन पुगेका छन ।

सचिव तथा प्रदेश नम्बर एकका संयोजक भीम आचार्यले समग्र प्रदेशमा समन्वय गर्नुका साथै सुनसरीमा आयोजित कार्यक्रमहरुमा सहभागिता जनाइरहेका छन । आचार्य लामो समयदेखि आफ्नो प्रदेशमै रहेर चुनावी नेतृत्व गरिरहेका हुन । चुनावमा समग्र प्रचार क्षेत्रको नेतृत्व गरिरहेका अर्का सचिव योगेश भट्टराई पनि गृहजिल्ला ताप्लेजुङ पुगेका छन । जेठको अन्तिम साताबाट नै जिल्ला पुगेका भट्टराई ताप्लेजुङका नौ वटै स्थानीय तहमा पुगेर नेता कार्यकर्तासहित मतदातालाई उत्साहित गर्ने कार्यक्रम रहेको छ ।

स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि एक सातादेखि गृहजिल्ला इलाममै व्यस्त बनेका छन । उनले इलामका सवै स्थानीय तहमा चुनावी अभियानका क्रममा पुग्ने गरी योजना बनाएर अभियान अघि बढाएका हुन । स्थायी समिति सदस्य शंकर पोखरेल १० दिनदेखि गृहजिल्ला दाङमा रही चुनावी अभियान हाँकेका छन । घोराही र तुल्सीपुर उपमहानगरपालिका साथै समग्र दाङमा पार्टीलाई विजयी बनाउन उहाँले कार्यकर्तालाई उत्साहित गर्दै आएका हुन । पोरखेलले स्थानीय मतदातालाई प्रशिक्षित गर्नुका साथै समग्र प्रदेशकै चुनावी योजनाको अनुगमनसमेत गरिरहेका छन ।

स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा गृहजिल्ला रुपन्देहीमा सक्रिय बनेका छन । उम्मेदवारी दर्ताको समय देखिनै देवदह नगरपालिका र त्यस वरपरका क्षेत्रमा बिश्वकर्मा सक्रिय रुपमा लागेका हुन ।

यस्तै प्रचार बिभाग उपप्रमुख रहेका केन्द्रीय सदस्य सूर्य थापा गृहजिल्ला प्यूठानमा चुनावी अभियानमा सक्रिय बनेका छन । एक साता अघिबाटै प्यूठानमा सक्रिय थापाले सो जिल्लाका सवै स्थानीय तहमा पुगेर कांग्रेस–माओवादीको राष्ट्रघाती नीति भण्डाफोर गरिरहेका छन । पहिलो चरणको निर्वाचनमा शीर्षसहित केन्द्रीय नेताले बिशेष ध्यान नपु¥याउँदा ललितपुर महानगरपालिकामा झिनो मतान्तरले पराजित भएपछि दोस्रो चरणमा एमालेका शीर्ष नेता नै गृहजिल्ला पुगेर चुनावी अभियान हाँकेका हुन ।

५ असार २०७४, सोमबार १६:४९मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *