Untitled Document

ओली भेटन नपाउँदा कार्यकर्तामा छायो निराशा

कार्यकर्ताले खोजे बालुवाटारका प्रधानमन्त्री होइन, बाल्कोटका ‘बाबै’, साताको एक दिन नेता-कार्यकर्ताको गुनासो सुन्ने समय माग

शान्तिराम कार्की/काठमाडौं 

लामो समय प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका पूर्वएमालेका एक झापाली नेताले ठूलै प्रयासपछि पनि भेट्न नसकेपछि मनभित्रको आक्रोश दबाउन सकेनन् । दुःखका वेला ओलीका साथमा रहेका पुराना केही नेतालाई बोलाएर गुनासो गरे, ‘होइन, हाम्रा बाबै (ओलीलाई माया र आदरका साथ कार्यकर्ताले दिएको सम्मान) लाई कस्ले चक्रव्यूहमा पारिरहेको छ ? बाबै त यस्तो हुँदै होइन ।’

उनले प्रधानमन्त्री निवासमा दर्जनौँपटक पुग्दा पनि भेट्न नसकेको गुनासो गरे । अनि लामो सुस्केरा हाल्दै भने, ‘मेरो नाम भने उहाँ आफैले बोलाऊ भन्नुहुन्छ, तर नाम पनि दिएनन् ।’ प्रधानमन्त्री ओलीको विषयमा यस्तो गुनासो गर्ने उनी पहिलो कार्यकर्ता होइनन् ।

पछिल्लो समय हरेक दिन सयौँको संख्यामा ओलीका भित्रिया भनिएका नेता–कार्यकर्ता यसै गरी गुनासो पोखिरहेका छन् । आफू निकट सबैलाई सहज पुहँच दिने छविमा स्थापित भएकै कारण पदमा रहँदा होस् वा नरहँदा, अधिकांश नेता–कार्यकर्ता ओलीसँग भेट्न चाहन्छन् । तर, बालुवाटार बर्लिनको पर्खाल बनेर खडा भएपछि सबै निराश बन्न थालेका छन् ।

राजकीय काम, समृद्धिको योजनामा व्यस्त बनेपछि ओलीले समय निकाल्न सकिरहेका छैनन् । तर, कार्यकर्ता यसो भनेर चित्त बुझाउने अवस्थामा देखिँदैनन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँगको भेट यतिवेला बाल्कोटमा बेडरुममै पुग्ने पूर्वएमाले नेता–कार्यकर्ताकै लागि पनि निकै दुर्लभ बनेको छ । प्रधानमन्त्री ओलीलाई हरेक अप्ठ्यारामा साथ दिई आफ्नो राजनीतिक जीवनसमेत समाप्त पार्न तयार भएका थुप्रै नेता–कार्यकर्ताका लागि नै ओलीसँगको भेट दुर्लभ बनेको हो ।

पार्टी सत्तामा नरहँदासमेत ओलीसँग जोडिएकै कारण राजनीतक जीवन दाउमा परेकाहरू प्रधानमन्त्री र पार्टी अध्यक्षको भूमिकामा रहेका ओलीसँग एक मिनेट भए पनि भेट्न चाहन्छन्, विगतका जसरी घन्टौँ बहस–छलफल गरी सुख, दुःखका अनुभूति साट्ने होइन, समृद्धिका लागि उनलाई साथ दिने अठोट गर्न चाहिरहेका छन्, तर बालुवाटारमा निकै व्यस्त ओलीको अनुहार नै देख्न नपाएपछि निराश बनेका छन् ।

‘देश बनाउने काममा हुनुहुन्छ, उहाँले बनाउनुहुन्छ, हामी किन ओलीतिर लाग्यौँ भन्ने गर्व महसुस भइरहेको छ, यतिवेला उहाँले अघि बढाएको योजना र कामबाट,’ ओलीकै निर्वाचन क्षेत्र दमकका एक नेता भन्छन्, ‘जीवनका हरेक मोडमा खडा हुने कार्यकर्तालाई यसरी चटक्कै बिर्सेको जस्तो त गर्नुभएन नि भनेर सन्देश पुर्याइदिनुपर्यो, हामीले माग्ने केही होइन, तर उहाँको योजनामा जहाँ रहेर भए पनि साथ दिने अठोट त गर्न पाउनुपर्यो नि ।’

उनका अनुसार पछिल्लो समय निर्वाचन क्षेत्रका सहयोगीसमेत प्रधानमन्त्री ओलीसँग चिढिएका छन् । चिढिनुको एउटै कारण छ, प्रधानमन्त्री भएपछि भेट्नै नपाउनु । उनीहरूको माग पनि ठूलो छैन, माग रहेको छ, ‘एकपटक भेट्न पाउनुपर्यो, मतदाताका अपेक्षा सुनाउन पाउनुपर्यो ।’ पदमा रहँदा होस् वा नरहँदा होस्, सहयोगी र कार्यकर्ताका लागि ओली सबैभन्दा सहज नेताका रूपमा परिचित छन् ।

यस्तै, कार्यकर्तामाथि भएको अन्याय कहिल्यै नसहने र कसैको दबाबमा आफ्ना साथमा लाग्नेहरूमाथि आरोपको भरमा विश्वास नगरी आफँै अनुसन्धान गर्ने उनको विगतको छवि रहेको छ । सोही कारण ओली निकट रहेका सबै सदाबहार साथमा रहेका छन् । विशेष स्वार्थ बोकेर ओली निकट पुगेकाहरू भने स्वार्थ पूरा हुनसाथ साथ छाडेर अर्काे कित्ता रोज्दै आएका छन् ।

कार्यकर्तालाई सहज पहुँच र संरक्षण दिने, सत्यसँग नडग्ने, शक्तिसँग नझुक्ने आम छवि बनाएका ओलीसँग भेट्नै नसकेपछि यतिवेला भित्रिया भनिएका नेताहरूसमेत निराश बनेका छन् । ‘यस्तो त कहिल्यै भएको थिएन, खोजीखोजी कार्यकर्ता भेट्ने हाम्रो बाबै (ओली) अहिले त अनुहार पनि टिभीबाट देखेर चित्त बुझाउनुपर्ने भयो, यो सन्देश बालुवाटार पु¥याइदिनोस्,’ बालुवाटारका प्रधानमन्त्री नभई बाल्कोटका बाबै खोजिरहेका एक पुराना सहयोगीले भने, ‘सबैले एउटै प्रश्न गरिरहेका छन्, कार्यकर्ताका प्रिय हाम्रा बाबैलाई कस्ले गरिरहेछ टाढा–टाढा बनाउने षड्यन्त्र ?’

ओली निकटहरूका अनुसार पछिल्लो समय अरू कुनै कारणले नभई भेट्न नपाएकाले ओलीसँग असन्तुष्ट बन्नेहरूको संख्या ह्वात्तै बढेको छ । उनीहरूका अनुसार हप्तामा एक दिन कार्यकर्ताको गुनासो सुन्ने व्यवस्था नभएमा सदैव कार्यकर्तासँग नजिक रहन चाहने ओली भन्ने विगतको तथ्यलाई सबैले भुल्ने अवस्था बनेको छ । सौर्य दैनिक

June 12, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *