जनता टाइम्स

२५ पुष २०७६, शुक्रबार ०९:४०

उखु किसानले बक्यौता रकम पाए कि पाएनन् , आजदेखि अनुगमन सुरु


काठमाडौं, पुस २५  ।  उखु मिल सञ्चालकहरुले उखु किसानको बक्यौता रकम दिएको वा नदिएको बारे सरकारले शुक्रबारदेखि अनुगमन सुरु गर्ने भएको छ । सरकार र उखु किसानबीच माघ ७ गतेभित्र सबै भुत्तानी दिइसक्ने सहमति भएको छ ।

सरकार र उखु किसानबीच भएको सहमतिअनुसार मिल सञ्चालकले भुक्तानी दिएको, नदिएको बारे आजदेखि अनुगमन थालिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयकी उपसचिव उर्मिला केसीले जानकारी दिनुभयो । अनुगमनका लागि मन्त्रालयले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई पत्र पठाइसकेको उहाँले बताउनु भयो ।

गएको पुस १८ गते सम्झौता भएपछि केही मिल सञ्चालकले उखु किसानको भुक्तानी बापतको रकम दिन सुरु गरिसकेका छन् । सर्लाहीमा रहेको महालक्ष्मी सुगर मिलले किसानको दिनुपर्ने २१ करोड रुपैयाँमध्ये १३ करोड रुपैयाँ किसानको खातामा जम्मा गरेर मिल सञ्चालन गर्न थालेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिनुभयो ।

सर्लाहीकै अन्नपूर्ण सुगर मिलले भने उखु किसानलाई दिन बाँकी ५० करोडमध्ये दुई करोड रुपैयाँमात्रै दिएको छ । नवलपरासीको बाग्मतीले पनि केही रकम दिएर मिल सञ्चालन गरेको छ भने नवलपरासीकै इन्दिरा सुगर चिनी मिलले ९ करोड रुपैयाँ किसानलाई दिन बाँकी भएकोमा दिए, नदिएको बारे जानकारी नभएको मैनालीले बताउनु भयो ।