Untitled Document

नेकपा नेताको निष्कर्ष : पार्टी एकतासँगै समाजवादउन्मुख समाज निर्माणका लागि उपयुक्त वातावरण तयार

काठमाडौँ, ३१ जेठ

नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले पार्टी एकतासँगै समाजवादउन्मुख समाज निर्माणका लागि उपयुक्त वातावरण तयार भएको निष्कर्ष निकालेका छन् । पार्टी एकताले सबैतीर उत्साह छाएकाले अबको बाटो समाजवादउन्मुख समाज निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिइएको छ ।

प्रेस चौतारी नेपाल केन्द्रीय कमिटीको बैठकको उद्घाटन सत्रमा बोल्दै नेकपाका नेताहरुले समाजवादउन्मुख बाटोमा अग्रसर हुन सबै एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको हो । उद्घाटन सत्रमा बोल्दै स्थायी कमिटीका सदस्य योगेश भट्टराईले कम्युनिष्टहरुबीचको एकताले स्वदेश र विदेशमा सकारात्मक सन्देश गएकाले अब जनताको चाहना र आवश्यकतालाई पूरा गर्न लाग्नुपर्ने समय आएको बताउनुभयो । लामो समयको प्रयासपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकता भएकाले यसको जगमा समाजको रुपान्तरण र समृद्धिमा लाग्न सरकार र पार्टी पङ्ति क्रियाशील हुनुपर्नेमा जोडसमेत दिनुभयो ।

नेकपाका स्थायी कमिटीका पम्फा भुसालले पार्टी एकतासँगै समाजवादउन्मुख समाज निर्माणका लागि उपयुक्त वातावरण तयार भएको बताउँदै यस अभियानमा सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

बैठकमा नेकपाका केन्द्रीय सदस्यहरु विष्णु रिजाल, महेश्वर दाहाल र ओम शर्माले चौतारी र प्रेस सेन्टर नेपालको एकता र सशक्तताका लागि शुभकामना दिनुभयो ।

चौतारीका अध्यक्ष गणेश बस्नेतले दुई संगठनको एकताका लागि गठित कार्यदलको कार्यतालिकाअनुसार दुई संगठनको चाँडै एकता हुने जानकारी दिनुभयो । चौतारीसँग एकताका लागि शुक्रबार बिहान सेन्टर केन्द्रीय कमिटीको बैठक बस्ने र दिउँसो संयुक्त भेला गर्ने कार्यक्रम रहेको बताइएको छ ।

June 14, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *