जनता टाइम्स

३१ बैशाख २०७६, मंगलवार १०:१४

चीनलाई कर वृद्धि विरूद्ध प्रतिकार नगर्न ट्रम्पको आग्रह


वासिङ्टन, बैशाख ३१

चिनियाँ सामानमाथि हालै गरिएको कर वृद्धिको प्रतिकारमा नउत्रन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई आग्रह गर्नुभएको छ । वासिङ्टनले गत हप्ता दुई खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमाथि १० प्रतिशतबाट २५ प्रतिशत कर वृद्धिसम्म बढाउने निर्णयप्रति चीन तत्काल बदलामा उत्रिएको थियो । यससँगै दुई देशबीच सम्बन्धमा समस्या आउन सक्ने ट्रम्पले चेतावनी दिनुभएको हो ।

ट्रम्पले ट्वीटरमार्फत लेख्नुभएको सन्देशमा भनिएको छ, ‘चीनले कर वृद्धिको प्रतिकार गर्नुहुँदैन । यसले सम्बन्धलाई थप समस्यामा धकेल्ने छ ।’ अमेरिका–चीनबीच भएको दुई दिन लामो व्यापार वार्तापछि अमेरिकाले गत शुक्रबार चिनियाँ सामानमाथि करवृद्धि गरेको थियो । कर वृद्धिका वाबजुद चीन र अमेरिकाबीच व्यापारसम्बन्धमा गत वर्षदेखि देखिएको तनाव अन्त्य गर्न केही महिना यता वार्ता चलिरहेको छ र वार्ताले निरन्तरता पाउने दुबैपक्षले बताउँदै आएका छन् ।