जनता टाइम्स

४ माघ २०७६, शनिबार ११:५९

द्धन्दकालिन आयोगको पदाधिकारीमा दलहरुबीच जुट्यो सहमति


काठमाडौं, माघ ४

सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोग गठनका विषयमा दलहरुबीच सहमति जुटेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको सत्तारुढ नेकपा र प्रतिपक्ष नेपाली कांग्रेसबीचको बैठकले आयोगका पदाधिकारीको नाम टुंगो लगाएको हो ।

आजै यी दुई आयोगमा नाम सिफारिस गर्न २०७५ चैत १२ गते गठन गरिएको सर्वोच्चका पूर्व प्रधानन्यायधीश ओमप्रकश मिश्रको संयोजकत्वमा सिफारिस समितिको बैठक बस्दैछ । दलहरुबीच राजनीतिक सहमति जुटेकाले समितिले नाम सिफारिस गर्नेछ ।

स्रोतका अनुसार सत्य निरुपणमा गणशेदत्त भट्टको नाम सिफारिस गर्न दलहरुले सिफारिस समितिलाई आग्रह गर्ने भएका छन् । उनी कांग्रेसको सिफारिसमा आयोग अध्यष हुन लागेका हुन् । शुक्रबारको बैठकमा नेकपाले ३ र कांग्रेसले १ समिति सदस्य लिनेकी दुवै पार्टीले २÷२ जना लिने भन्नेमा कुरा मिलेको थिएन ।

शनिबारको बैठकमा यो विषयमा सहमति जुटेको बताइएको छ । आज बस्ने सिफारिस समितिले बैठकले क्याविनेटमा सिफारिस पठाउने छ । मन्त्रिपरिषदले अनुमोदन गरेपछि आयोग गठन हुनेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वसभामुख सुवास नेम्बाङ, कांग्रेसका रमेश लेखक, मिनेन्द्र रिजाल, जितेन्द्र देव र नेकपाबाट खिमलाल देवकोटा सहभागी हुनुहुन्थ्यो । टिआरसीको ऐन संसोधनका विषयमा पनि दलहरुबीच सहमति भईसकेको छ ।