जनता टाइम्स

३१ बैशाख २०७६, मंगलवार १२:१२

भरतपुर कारागार सार्न ठाउँ खोजिँदै


चितवन, बैशाख ३१

जिल्ला कारागार भरतपुर रहेको ठाउँ साँघुरो भएपछि स्थानान्तरण गरिने भएको छ । सोका लागि जग्गा खोजीकार्य अघि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार कैदीबन्दीको सङ्ख्या बढ्दै गएपछि फराकिलो ठाउँमा एक हजार क्षमताको कारागार निर्माण गर्ने तयारी गरिएको छ । हाल कारागारको क्षमता २८० भए पनि अहिले ७३० कैदीबन्दी छन् । बस्नेतले चाररपाँच बिघा जमीन खोजी भइरहेको बताउनुभयो ।

हाल कारागार रहेको ठाउँमा एक बिघा १३ कठ्ठा जमीन रहेको छ । भरतपुर महानगरपालिकासँग समन्वय गरेर जग्गाको खोजीकार्य भइरहेको उहाँले बताउनुभयो । अस्पताल, अदालत, प्रशासन र सरकारी वकिलको कार्यालय आवतजावत गर्नुपर्ने भएकाले भरतपुरको शहरी क्षेत्रमा नै जग्गाको खोजी भइरहेको उहाँले बताउनुभयो । टाढा कारागार हुँदा खर्चिलो र व्यवस्थापनमा कठिन हुने भएकाले शहरी क्षेत्रमा नै जग्गा खोजी गरिएको उहाँले बताउनुभयो ।

जग्गाको पहिचानपछि कारागार भवन निर्माणका लागि प्रदेश सरकार तयार रहेको भन्दै उहाँले जग्गा खोजीको कामलाई तीव्रता दिइएको बताउनुभयो । चालू आर्थिक वर्षमा जग्गाको पहिचान गरी आउँदा आर्थिक वर्षमा निर्माणको तयारी गरिएको छ । कारागारमा धेरै गैँडासम्बन्धी मुद्दाका कैदीबन्दी छन् भने अन्य जिल्लामा रहेका बिरामी कैदीबन्दीको रोजाइ पनि चितवन हुने हुँदा यो सङ्ख्या बढ्दो छ ।

यससँगै पूर्वी नवलपरासीमा जिल्ला अदालत भए पनि कारगार नभएकाले त्यसको दवाब यहाँको कारागारले थेग्नुपरेको कारागार प्रमुख कमलप्रसाद काफ्लेले बताउनुभयो । यहाँको कारागारमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला तथा मकवानपुरबाट समेत कैदीबन्दी ल्याइने गरेको छ । विसं २०७५ भदौ ३ गते पूर्वी नवलपरासीमा जिल्ला अदालत स्थापना भएपछि त्यहाँबाट यहाँ १५३ कैदीबन्दी ल्याएर राखिएको छ । जिल्लामा कैदीबन्दीको चाप बढी भएपछि यहाँबाट समेत देशका अन्य कारागारमा कैदीबन्दी पठाउने गरिएको काफ्लेले बताउनुभयो ।