जनता टाइम्स

१० माघ २०७६, शुक्रबार १०:२१

आफ्नै बिहेको कार्ड बाँड्दै हिडेकी बेहुलीलाई टिपरले कुल्चेर पछि…


धनगढी, माघ १० । बिहिवार सुदुरपश्चिमको महेन्द्रनगरमा आफ्नै विवाहको कार्ड वितरण गर्दै हिडेकी बेहुलीलाई टिपरले ठक्करबाट मृत्यु भएको छ । यही माघ १३ गते हुने विवाहको भव्य तयारी भइरहेको थियो । बिहे जस्तो कुरो सबैतिर पुग्नुपर्ने, काम र तयारी भ्याउनु पर्ने चटारो त हुने नै भयो । साथीहरुलाई कार्ड वितरण गर्दै हिडेकी चार दिनपछिकी बेहुलीलाई टिपरले कुल्चेर हत्या गरेको हो ।

टिपर अब विकास वा सवारी साधन रहेन । मानिसको प्राण पखेरु टपक्कै टिप्ने महाकाल बन्न पुगेको छ । बिहिवार अपरान्ह महेन्द्रनगरको बसपार्क नजिक रहेको चम्मन चौकमा से १ क ८८७ नम्वरको टिपरले ठक्कर दिँदा भीमदत्त नगरपालिका–१८ गोबरियामा डेरा गरि बस्दै आएकी २० वर्षीय रमिता भट्टको मृत्यु भएको छ । विभत्स दुर्घटनामा बेहलीको शरीर सडकमा टुक्राटुक्रा भएर छरिएको छ । मृतक युवती जनज्योती बहुमुखी क्याम्पस महेन्द्रनगरमा बिएड तेस्रो वर्षकी छात्रा हुन् । रमिता यही माघ १३ गते हुने विवाहको कार्ड वितरण गर्दै हिडेकी थिईन् । साइकलमा सवार रमितालाई अत्याधिक गतिमा रहेको टिपरले ठक्कर दिदा उनको घटनास्थलमै मृत्यु भएको हो । स्थानीय प्रत्यक्षदर्शीले चालकको लापर्बाहीका कारण दुर्घटना भएको हो ।

आफ्नै विवाहको कार्ड वितरण गरी डेरामा फर्कने क्रममा टिप्परले बेहुलीको मृत्यु भएपछि विहेको तयारीमा जुटेका आफन्त शोकमा डुबेका छन् । बेहुलीको मृत्यु भएपछि आक्रोसित स्थानीयबासीको विरोधका कारण बिहिवार साँझ महेन्द्रनगर तनावग्रस्त बन्न पुगेको छ । स्थानीयबासीले बेहुलीको हत्या गरेको आरोप लगाउँदै चालकमाथि ज्यान मुद्दा लगाउन माग गरेका छन् । टिपर जोशी बिल्डर्स एण्ड कन्ट्रक्सनको को नाममा रहेको छ ।