जनता टाइम्स

१० माघ २०७६, शुक्रबार १६:१०

हनुमन्ते सफाई अभियानले काँचुली फेरेको भक्तपुर


रमेश गिरी \भक्तपुर, १०

माघ बिहान होस वा साँझ मोटरसाईकल र कारमा आउनेहरुको एकताका फोहोर फाल्ने अखडा बनेको थियो भक्तपुरको ऐतिहासिक हनुमन्ते नदी । सभ्य समाजका केही असभ्य व्यक्तिहरु आफ्ना सवारी साधनमा आएर हनुमन्ते नदीको पुलबाट फोहोरले भरिएको बोरा र झोला फुत्त फालेर हुईकिन्थे ।

यसरी नदीवरिपरि स्थानीयको फोहोर फाल्ने अखडा बनिरहेको देखेपछि भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधीसभा सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले हनुमन्ते नदी सफाईसंगै हरियाली प्रर्बद्धन अभियान संचालन गर्ने परिकल्पना गरेपछि सुरुभयो हनुमन्ते नदी सफाई अभियान ।

‘उठौं, जागौं, हनुमन्ते नदी सफाईमा सबै लागौ’ भन्ने मूल नाराका साथ सरकारको लगानी बिना नै २०७४ फागुन १९ गते शनिवार तत्कालिन जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित र हनुमन्ते सफाई अभियानका अगुवाई गर्ने सांसद बस्नेतले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हनुमन्ते सफाई अभियानले आगामी शनिवार अन्तत: १०० हप्ता पुरा गर्दैछ ।

अभियानको १०० हप्ताको कार्यक्रम११ गते शनिवार बिहान वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतको नेतृत्वमा पूर्व उद्योगमन्त्री एवं प्रतिनिधि सभाका सदस्य बस्नेतसहितको टोलीले भव्य रुपमा गर्ने भएको छ । कार्यक्रममा हरियाली प्रबद्र्धन एवं सोलार बत्ती जडानको समेत उद्घाटन हुने भएको अभियानका संयोजक सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले जानकारी दिनुभयो ।
सरकारको लगानी विना नै स्वतस्फूर्त स्थानीय अभियन्ताहरुको सहयोग र साथमा हनुमन्ते नदी सफाई अभियानले १०० हप्तामा पुग्दा धेरै उपलब्धी हासिल गरेको सांसद महेश बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो–“हनुमन्ते सफाई अभियानलाई जोडेर अरनिको राजमार्ग सफाई अभियान, हरियाली प्रबद्र्धन गर्दै राजमार्गमा हरियाली अभियान, मठमन्दिर एवं सम्पदा सफाई अभियान, बृक्षारोपण, सडकमा सोलार बत्ती जडान अभियान, दुर्घटना न्यूनिकरण अभियान, सडकमा सिसि क्यामरा जडान, सडक र गाडीमा स्मार्ट डस्टबिन प्रयोग जस्ता धेरै उपलब्धीहरु यही अभियानबाट भयो ।” देश कै नमूनाको रुपमा संचालन भएको हुनमन्ते सफाई अभियानको १०० सातासंगै यो अभियानलाई अब फरक ढंगले अगाडि बढाउनु पर्ने उहाँको भनाई छ ।

हनुमन्ते सफाई अभियानका दूत एवं नेपाली चलचित्रका निर्देशक मदन घिमिरेले अभियानले स्थानीयमा धेरै चेतना बृद्धि भएको बताउदै अब स्थानीयस्तरमा सफाई अभियानलाई अपनत्व ग्रहण गर्दै नियमित संचालन गर्नुपर्ने बताउनुभयो । हनुमन्ते सफाई अभियानले सार्थकता पाएको बताउदै उहाँले १०० हप्तासम्म पुग्दा हनुमन्ते र राजमार्गमा फोहोर फाल्ने क्रम न्यूनिकरण गर्न सफल भएको उहाँले बताउनुभयो ।

हुनमन्ते सफाई अभियानका अभियन्ता रुद्र पौडेलले ९९ हप्तासम्ममा हनुमन्ते सफाई अभियानमा १६ सय टन फोहोर संकलन गरि व्यबस्थापन गरिएको जानकारी दिनुभयो । अभियानमा ९५ हजार जना भन्दा बढी र २५० भन्दा बढी सामाजिक संघसंस्थाको सहभागिता रहेको उहाँले जानकारी दिनुभयो ।

सांसद बस्नेत कै पहलमा अभियान अन्तर्गत विपद व्यबस्थापनका सामाग्री हस्तान्तरण गरिनुका साथै मनोहरा पुलदेखि मध्यपुरथिमि राधेराधेसम्म अरनिको राजमार्गमा सोलार बत्ति जडान गरिएको छ भने, सूर्यविनायकसम्म हरियाल प्रर्बद्र्धन अन्तर्गत सडकको बिच र किनारामा दूवो रोप्ने काम सम्पन्न भएको छ ।

आगामी शनिवार हनुमन्ते पुलदेखि सूर्यविनायकसम्म सडकमा सोलार बत्ति जडान र मनोहरासम्म दूबो रोप्ने कामको समेत शुभारम्भ हुने भएको छ । त्यसैगरि सडकमा स्मार्ट डस्बिन जडान गर्नुका साथै गाडीहरुमा समेत फोहोर बाहिर नफाल्न अनुरोध गर्दै डस्विन वितरण गरिएको छ । १०० हप्ताको कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न बिभिन्न समितिहरु समेत गठन गरिएको छ ।