जनता टाइम्स

१६ माघ २०७६, बिहीबार १८:१८

पियनको सम्पत्ति झण्डै १० करोड फेला परेपछि..


काठमाडौं, माघ १६ । एउटा कार्यालय सहयोगीको तलव कति होला ? जो कोहीले सहजै अनुमान लगाउन सक्छ । तर त्यही कार्यालय सहयोगीको सम्पत्ति देखेर यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी नै चकित परेका छन । अख्तियारले चावहिलस्थित मालपोत कार्यालयका सहयोगी राजेन्द्र बस्नेतलाई झण्डै ९ करोड रुपैया अकुत सम्पत्ति थुपारेको प्रमाणका आधारमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बस्नेतविरूद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको जनाएको छ । अख्तियारका अनुसार, बस्नेत र उनको परिवारको नाममा ९ करोड ७३ लाख ३१ हजार रूपैयाँ सम्पत्ति देखिएको छ । त्यो सम्पत्तिमध्ये ८ करोड ९८ लाख रुपैयाँको वैध स्रोत खुल्न सकेको छैन । सो सम्पत्ति बस्नेतले अवैध तरिकाले कमाएको अख्तियारको ठहर छ ।

अख्तियारले सोही ठहरसहित बस्नेतलाई २ वर्षसम्म कैद र विगोजति नै जरिवाना गराउन माग गर्दै विशेषमा मुद्दा दायर गरेको हो । अख्तियारले बस्नेतले भ्रष्टाचार गरी कमाएको ८ करोड ९८ लाख रुपैयाँपनि जफत गर्न माग गरेको छ । अख्तियारका अनुसार उक्त सम्पत्ति मध्ये ७४ लाख ७३ हजार ३ सय ७३ रूपैयाँमात्रै वैध रहेको छ । मालपोतमा कार्यालय सहयोगीको काम गर्ने उनको जीवनयापन अस्वभाविक भएको भन्दै उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

बस्नेत २०४५ सालमा मालपोतका कार्यालय सहयोगीको रूपमा सेवा प्रवेश गरेका थिए । अख्तियारले सेवा प्रवेश देखि गत वर्षसम्मको अवधिमा भएको उनको आय विश्लेषण गरी यस्तो निश्कर्षमा निकालेको हो । पारिश्रमिक, बचत, आय, घरजग्गा बिक्री, सवारीसाधन बिक्री र विभिन्न बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा र आमा टुकुकुमारी बस्नेतको पेन्सन बचत समेत हिसाब गर्दा उनको परिवारको वैध आय जम्मा ७४ लाख ७३ हजार देखिएको छ ।

बस्नेत मालपोत कार्यालय चावहिलमा कार्यरत रहँदा नक्कली रसिद काट्ने, नगद असुल गर्ने तर राजस्व दाखिला नगर्ने लगायतका गैरकानुनी काम गरेको भन्दै गत वर्ष पनि विशेष अदालतमा मुद्दा परेको थियो । त्यतिखेरै उजुरीको क्रममा अख्तियारले नियन्त्रणमा लिँदा ११ लाखरूपैयाँ बरामद गरेको थियो । आफू तथा आफ्नो परिवारका सदस्यहरु लगायत अन्य भतिजा नाताका व्यक्ति समेतका नाममा उनले जग्गा, सवारी साधन, व्यवसाय लगायतका विभिन्न शीर्षकहरू खर्च र लगानी गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । उनले श्रीमती सीता बस्नेतको नाममा ६ करोड, ७४ लाखको घरजग्गा किनेको र आमाको जग्गामा ६२ लाख ९० हजारको घर बनाएको अख्तियारले जनाएको छ ।

अख्तियारका अनुसार बस्नेतले ३९ लाख ७६ हजार त सापटी लिएको चुक्ता गरेका छन भने ५ लाखको बीमा गरेका छन । उनले अंशियारलाई अंशबापत १५ लाख दिएको देखिन्छ । त्यस्तै ३७ लाख ३१ हजार रूपैयाँ सवारी साधनमा र छोरा छोरीको शिक्षादिक्षामा १७ लाख ८६ हजार खर्च गरेका छन । उनको परिवारको नाममा विभिन्न बैंकहरूमा ५ लाख रूपैयाँ देखिन्छ । त्यस्तै उनले आफ्नी श्रीमतीको बैंकखाताबाट भतिज कृपा बस्नेतलाई १ करोड पठाएको पनि अख्तियारको अनुसन्धानले देखाएको छ ।

बस्नेतले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी अस्वभाविक उच्च जीवनयापन गरेको उजुरी परेपछि अख्तियारले पक्राउ गरी छानबिन शुरू गरेको थियो । पक्राउको क्रममा बस्नेतको साथबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ नगद पनि बरामद भएको थियो । तर, अनुसन्धान गर्दै जाँदा बस्नेतले गैरकानूनी रूपमा आठ करोड ९८ लाख ५८ हजार ६१३ रूपैयाँ आर्जन गरेको देखिएकाले विशेष अदालतमा आज भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताउनु भयो ।

प्रवक्ता कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (२) बमोजिम बिगोबमोजिम जरिवाना र कैद सजायको साथै निजले स्रोत पुष्टि गर्न नसकेको एवं गैरकानूनी रूपमा आर्जन गरेको आठ करोड ९८ लाख ५८ हजार ६१३ समेत जफत समेत गरी पाउन निजकी श्रीमती सीता बस्नेत, आमा टुकुकुमारी बस्नेत र भतिजा कृपा बस्नेत समेतलाई प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।”