जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार ११:०७

सगरमाथा आरोहणमा कामीरिताको नयाँ कीर्तिमानी, २३औँ पटक आरोहण


सोलुखुम्बु, जेठ १

साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३औँपटक पाइला टेकेको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिनुभयो ।

लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैँले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल हुनुभएको हो । कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गर्नुभएको हो ।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए। यसअघि २१ पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन्।