जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार ११:१७

अज्ञात समूहद्वारा अछाममा नगरपालिकाको गाडीमा आजगनी


अछाम, जेठ १

अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा गएराति २ः१५ बजे आगजनी भएको प्रहरीले जनाएको छ । आगजनीबाट गाडी पूर्णरुपमा ध्वस्त भएको छ । नगरपालिका परिसरमै पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको खबर पाउनेबित्तिकै प्रहरी टोली परिचालन गरेर आगो नियन्त्रणमा लिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार गाडीमा आगजनी गर्नेको खोजी भइरहेको छ। स्थानीयवासीले गाडीमा आगजनी भएको प्रहरीलाई जानकारी गराएका थिए । आगजनी कसले गरेको हो भन्ने यकिन नभएको प्रहरी नायब उपरीक्षक शाहीले जानकारी दिनुभयो । पार्किङ गरेर राखिएको गाडी योजनाबद्ध ढङ्गले आगजनी गरेको हुनसक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश ढुङ्गानाले बताउनुभयो ।

सोही ठाउँमा पार्किङमा राखिएको टिपरलगायत अन्य सरकारी गाडीलाई केही पनि नगरेको उहाँले बताउनुभयो । नगरप्रमुख पदमबहादुर बोहरा चढ्ने उक्त गाडी नगरपालिकाले करिब एक वर्षअघि एक करोड २० लाख रुपैयाँमा खरीद गरेको थियो। गाडीमा विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशङ्कामा प्रहरीले खोजीकार्य तीव्र पारेको छ।