जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार ११:३३

कामदारको बायोमेट्रिक सुरक्षा जाँच गर्ने जीएसजी सर्भिस प्रालिमा विभागको छापा


काठमाडौं ।

वैदेशिक रोजगार विभागले सरकारको स्विकृति विना मलेसिया जाने कामदारको बायोमेट्रिक सुरक्षा जाँच गरिरहेको आशंकामा जीएसजी सर्भिस प्रालिको कार्यालयमा मंगलबार छापा मारेको छ ।

जीएसजीले सरकारको स्वीकृतिबिना नै मलेसिया जाने नयाँ कामदारको बायोमेट्रिक सुरक्षा जाँच गरिरहेको भन्ने सूचना आएकाले छापा मारेको विभाका महानिर्देशक भीष्मकुमार भुषालले जानकारी दिनुभयो । कामदारको सुरक्षा जाँच गरेपछि मात्रै मलेसियाको भिसा प्रक्रिया सुरु हुन्छ ।

सरकारले मलेसियातर्फ नयाँ कामदारको श्रम स्वीकृतिको प्रक्रियालाई पूर्ण रूपमा रोकेको छ । विभागका महानिर्देशक भुसालले जनवरी १ देखि अहिलेसम्मको सबै रेकर्डहरू माग गरेको बताउनु भयो । जीएसजीले काठमाडौंस्थित मलेसियन दूतावासको अनुमति लिएर मात्रै रेकर्डहरू हेर्न दिने भन्दै एक दिनको समय मागेको छ ।

प्रहरीका अनुसार कम्पनीका सञ्चालक गोविन्द थपोलिया अहिले पनि फरारको सूचीमा छन् । शक्ति केन्द्रको आडमा उनलाई पक्राउ गरिएको थिएन । गत कात्तिकमा श्रम सम्झौता भएपछि मात्रै यो कम्पनीले वैधानिकता पाएको थियो । सेवा दिएबापत कम्पनीले कामदारसँग ३२ सय शुल्क लिने गरेको थियो ।