जनता टाइम्स

२० माघ २०७६, सोमबार १७:१८

भक्तपुरमा दुई ‘स्याटेलाइट सिटी’ बन्ने, तयार भयो डिपिआर


रमेश गिरी/भक्तपुर । सरकारले भक्तपुरका दुई स्थानमा ‘स्याटेलाइट सिटी’ बनाउने भएको छ । काठमाडौंभित्र बनाइने चार ‘स्याटेलाइट सिटी’ मध्ये दुई भक्तपुरमा बन्ने भएको हो । काठमाडौं उपत्यका विकास प्राधिकरणले भक्तपुरमा निर्माण हुने स्याटेलाइट सिटीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरेको छ ।

सरकारले काठमाडौं उपत्यकाको पूर्वतर्फ करिब एक लाख रोपनीमा फैलिने गरी सबैभन्दा ठूलो अत्याधुनिक शहर बनाउने भएको हो । उपत्यकाबाट ‘इशान’ कोणको रुपमा लिइएको यसलाई भक्तपुरको नगरकोट जाने सडक, तेलकोट सडक, पश्चिमतर्फ जोरपाटी, क्रिकेट मैदान, मूलपानी, गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिने सांसद महेश बस्नेतले जानकारी दिनुभयो । सांसद बस्नेतका अनुसार यस कोणको उत्तरमा साँखु बजार र साँखु जाने मूल सडकसम्म विस्तार हुने यो शहर भक्तपुरको पुरानो थिमिको बाटो, सैनिक प्रतिष्ठान खरिपाटी, भक्तपुर नगरपालिकाको इतापाके जग्गा एकीकरण आयोजनासहितको क्षेत्रमा फैलिने छ ।

निर्माण भएको डीपीआरअनुसार यो शहर निर्माणका लागि एक खर्ब रुपैयाँ खर्च हुने भएको प्राधिकणका आयुक्त भाइकाजी तिवारीले जानकारी दिनुभयो । सरकारले विकास गर्न लागेको यो सबैभन्दा ठूलो बस्ती विकास हुने गरी योजना तयार पारिएको बताइएको छ । चाँगुनारायण नगरपालिकाको करिब ६० हजार रोपनी र भक्तपुर, मध्यपुरथिमि, कागेश्वरी मनोहरा, शङ्खरापुर नगरपालिका गरी पाँचवटा नगरपालिकामा फैलिनेछ । स्याटेलाइट सिटीमध्ये ‘आग्नेय’ शहरतर्फ भने करिब १८ हजार रोपनीमा फैलिनेछ । यो शहरले पूर्वतर्फ भक्तपुरको सूर्यविनायक चोकदेखि सूर्यविनायक गणेश मन्दिर अगाडिको वनक्षेत्रलाई समेट्दै पश्चिमतर्फ गुण्डुको खहरे खोला, नयाँ बालकोट, बिरुवा सडक, पानी ट्याङ्की, पुरानो बालकोट, अमरनगर, थिमि हुँदै अरनिको राजमार्गसम्म फैलिनेछ ।

त्यस्तै उत्तरतर्फ अरनिको राजमार्ग हुँदै दक्षिणतर्फ सिलामगाल, रानीकोट जङ्गलछेउ, अनन्तलिङ्गेश्वर फेदी, तर्खगाल, पात्लेटार, बिरुवा हुँदै खहरेसम्म यो शहर फैलिने गरी सीमा निर्धारण गर्दै डीपीआर तयार भएको छ । प्राधिकरणका अनुसार यो शहर निर्माणका लागि १० अर्ब रुपैयाँभन्दा बढी खर्च हुनेछ । सरकारले उपत्यकाभित्रै झण्डै एक लाख ४० हजार रोपनी क्षेत्रफलमा चार नयाँ शहर निर्माण गरी व्यवस्थित बस्ती विकासको योजना अगाडि सारेको छ । सरकारले नयाँ शहर विकास गर्ने क्षेत्रमा आठ आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाउने र नयाँ भवन निर्माणमा रोक लगाएको भए पनि भूकम्पले क्षति भएका घरलाई साविकको जगमा निर्माण गर्न भने पुनःनिर्माण प्राधिकरणले दिएको अधिकारलाई दुरुपयोग गरी स्थानीय तहले घर निर्माणलाई सहमति दिएका छन् । जसका कारण सरकारले अघि सारेको नयाँ शहर निर्माणलाई प्रभाव पारेका छन् ।

स्याटेलाइट सिटी निर्माण गर्न सरकारले स्थानीयको जग्गा एकीकरण गरी विभिन्न अत्यावश्यक पूर्वाधार निर्माण गर्दै व्यवस्थित बस्ती विकास गर्ने भएको छ । सम्पूर्ण पूर्वाधारयुक्त बस्ती विकासपछि स्थानीयलाई जग्गा हस्तान्तरण गर्ने योजना रहेको आयुक्त तिवारीले जानकारी दिनुभयो । उक्त डीपीआरलाई प्राधिकरण सञ्चालक समितिले पास गर्नुपर्नेछ । त्यसपछि शहरी विकासमन्त्रीको संयोजकत्वको भौतिक विकास समितिले अनुमोदन गरेसँगै मन्त्रालयले डीपीआर मन्त्रिपरिषदमा पेश गरी पास भएपछि सम्बन्धित नगरपालिकाको नगरप्रमुखको अध्यक्षतामा व्यवस्थापन समिति गठन हुनेछ ।

प्रत्येक बस्तीमा उपभोक्ता समिति निर्माण गरी शहरी विकास मन्त्रालय, निजी क्षेत्र तथा अन्तर्रा्ष्ट्रिय लगानीकर्ताको लगानीमा शहर निर्माणको काम शुरु हुने आयुक्त तिवारीको भनाइ थियो । स्याटेलाइट सिटी विकासपछि यस्ता शहरमा जथाभावी घडेरी टुक्रापारी बिक्री भने गर्न पाइने छैन । बालकोट, गुण्डु, दधिकोट, सिरुटार आग्नेय कोणका लागि चाइनाको प्रतिष्ठित कम्पनीले लगानी गर्न इच्छा देखाउँदै लगानी बोर्डमा आशयपत्र बुझाएको सांसद बस्नेतले जानकारी दिनुभयो ।

यस्ता शहरमा साइकल लेनसहितको सडक र पूर्वाधारलाई मुख्य प्राथमिकता दिइने, प्रशस्त खुला क्षेत्रहरु राख्ने, आवश्यक खेल मैदान, पार्क, पौडी पोखरी, हरियाली, यातायात सञ्जाल, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्यलगायत पूर्वाधारसमेतको विकास गरिनेछ । स्याटेलाइट सिटीमा आवासीय, व्यापारिक र औद्योगिक क्षेत्रलाई छुट्टाछुट्टै स्थानमा व्यवस्थित गरिनेछ । विद्युत् तथा इन्टरनेट, टेलिफोन तारलाई भूमिगत गर्ने, फोहोरमैला व्यवस्थापन गर्ने योजना छ ।

भक्तपुरलाई समेटेर दुईवटासँगै सरकारले तेस्रो सिटीका रुपमा ललितपुरमा १० हजार रोपनी क्षेत्रफलमा अर्को शहर विकास गर्नेछ । ललितपुरको पूर्वमा खोकना बुङमती भएर छम्पी जाने बाटो हुँदै तत्कालीन वडा नम्बर २ देखि ६ सम्म, पश्चिम र दक्षिणतर्फ वाग्मती नदीको सीमासम्म र उत्तरतर्फ साविकको सैँबुसम्म यो शहर विस्तार गरिनेछ । यसलाई ‘नैऋत्य’ शहर नाम दिएको छ ।

काठमाडौँमा चौथो शहर ‘उत्तर’ को रुपमा सामाखुसी, टोखा सडक हुँदै बाइपाससम्म सीमा निर्धारण गरिएको छ । यसको उत्तरतर्फ सपनतीर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म फैलिने, दक्षिणमा ग्रीननल्यान्ड चोकदेखि महादेवखोला काभ्रेस्थली मूल सडकलाई छुने भएको छ । त्यस्तै पश्चिमतर्फ काभ्रेस्थलीदेखि बाइपास आउने मूल सडकसम्म १० हजार रोपनीमा यो शहर फैलिनेछ ।

तीनवटा प्रस्तावित नयाँ शहरको डीपीआर तयार भए पनि अन्तिम ‘उत्तर’ को डीपीआर भने चालू आवभित्र तयार हुनेछ । चारवटा यो शहर निर्माणका लागि करिब रु दुई खर्ब ४० अर्ब लाग्ने अनुमान छ । आगामी १० वर्ष्भित्र स्याटेलाइट सिटीको विकास गरी यो चार शहरमा पाँच लाख मानिस बस्नसक्ने गरी व्यवस्थापन गर्ने गरी कार्य अगाडि बढाइएको आयुक्त तिवारीले जानकारी दिनुभयो ।