जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार १२:२९

अख्तियारका पूर्व आयुक्त पाठक विशेष अदालतमा उपस्थित


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा उपस्थित भएका छन् । ७८ लाखको घुस काण्ड प्रकरणमा भिडियो सार्वजनिक भएपछि राजिनामा दिएका पाठक विशेष अदालतमा उपस्थित भएका हुन् ।

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा बयान चलिरहेको छ । बयानपछि नै थुनछेकको लागि सुनुवाई हुने छ । त्यसपछि इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटी माग्ने वा साधारण तारेखमा राख्न आदेश दिने छ । उनीसँगै प्रतिवादी बनाइएका लम्बोदर न्यौपाने भने हाल फरार छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।