Untitled Document

गौतमबुद्ध विमानस्थल एक वर्षभित्रै सञ्चालनमा : पोखरा विमानस्थ सन् २०१९ भित्र धावनमार्ग निर्माण सक्ने लक्ष्य

काठमाडौं, असार २४

आगामी एक वर्षभित्रै सञ्चालनमा ल्याउने गरी सरकारले गौतमबुद्ध विमानस्थलको निर्माण कार्यलाई तीव्रता दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना, निर्माण व्यवसायी तथा सम्बद्ध पक्षलाई थप सशक्त रुपमा काम अघि बढाउने गरी परिचालन गरेको हो ।

पछिल्लो चार महिनामा विगतमा भन्दा दोब्बर बढी कार्यप्रगति भएको छ । सोही आधारमा थप तीब्रता दिन मन्त्रालयले अभियान अघि बढाएको हो । सो विमानस्थलको करीब ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ । हाल विमानस्थलको धावन मार्गलगायतको निर्माणको काम भइरहेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ माथि मन्त्रालयसँग जोडिएका विषयमाथि सांसदले उठाएको प्रश्नको जवाफ दिँदै पर्यटन मन्त्री रबिन्द्र अधिकारीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो विमानस्थल निर्माणमा उल्लेख्य प्रगति भएको र प्रगति आशातीत रुपमा अगाडि बढेकाले समयमा नै सकिँदैन कि भनेर कुनै आशंका नगर्न आग्रह गर्नुभयो । ‘गौतमबुद्ध विमानस्थल निर्माणमा उल्लेख्य प्रगति भएको छ, प्रगति आशातीत रुपमा अगाडि बढेकाले समयमा नै सकिँदैन कि भनेर कुनै आशंका गर्नुपर्दैन,’ मन्त्री अधिकारीले भन्नुभयो ।

यस्तै कास्कीको पोखरामा निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलाई सन् २०१९ भित्र धावन मार्गको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्त्री अधिकारीले जनाउनु भयो । सन् २०२१ भित्र सो विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने योजनाका साथ सरकार लागिपरेको उहाँको भनाइ छ ।

पोखरामा निर्माण भइरहेको विमानस्थलमा १ सय ८० सिट क्षमताभन्दा बढीको जहाज उडान तथा अवतरण गर्न नसकिने भन्ने भनाइमा सत्यता छैन भन्दै उहाँले सो विमानस्थलाई ‘बुटिक एयरपोर्ट’ का रुपमा सञ्चालन गरिने जानकारी दिनुभयो । हाल सो विमानस्थलको १५ प्रतिशत भौतिक प्रगति भएको छ ।

निजगढ विमानस्थलमा मुआब्जा वितरणलगायत काम अगाडि बढिरहेको र वन क्षेत्रको कटानका लागि तीन चरणमा काम गर्ने गरी प्रक्रिया अगाडि बढाइएको छ । मुलुकको भविष्यसँग जोडिएको र विश्वका राम्रा परियोजनामध्ये एक रहेको सो विमानस्थललाई केही समयभित्रै निर्माण शुरु गरिने जानकारी उहाँले दिनुभयो । निजगढ विमानस्थलको निर्माण ढाँचा आगामी छ महिनाभित्र तय हुने मन्त्री अधिकारीको भनाइ थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल राति चलाउन जनशक्तिको व्यवस्था

मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमले केही दिन पहिले ल्याएको वाइड बडी जहाज पनि राति १२।०० पछि सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । यस्तै कार्गो विमानलाई पनि सोही समयपछि मात्रै अवतरण गर्न दिने गरी कार्यतालिका बनाइएको र विमानस्थलाई थप व्यवस्थित बनाइएको जानकारी उहाँले दिनुभयो ।

मन्त्री अधिकारीले आगामी केही समयभित्रै अर्को वाइड बडी जहाज आइपुग्ने र थप जहाज खरिदको प्रक्रिया शुरु भएको भन्दै नेपालको हवाई क्षेत्र थप गतिमा गएको छ भन्नुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई राति समेत चलाउँदा आवश्यर्क जनशक्तिको व्यवस्था, अध्यागमन तथा अन्य सुरक्षाको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि आवश्यक प्रक्रिया शुरु भएको र विगतको गलत अनुभवबाट पाठ सिकेर सरकारले तयारी गरेको जानकारी उहाँले दिनुभयो ।

यस्तै नेपाल र भारतबीच थप हवाई मार्ग प्रयोग गर्न पाउने गरी सहमति भएको तथा नेपालगञ्ज, जनकपुर, भीमदत्तनगर, सिमरा, विराटनगरलगायत मार्ग प्रयोग गर्न सकिने वातावरण बनेको उहाँले स्पष्ट पार्नुभयो । त्यसैगरी सरकारले धनगढी, नेपालगञ्ज, विराटनगर, भद्रपुर र जनकपुर विमानस्थललाई थप व्यवस्थित र साधनस्रोत सम्पन्न बनाएर अन्तर्राष्ट्रिय एवं क्षेत्रीय उडान गरिने उहाँले स्पष्ट पार्नुभयो ।

आइकाओले नेपालको हवाई क्षेत्रमाथि लगाउँदै आएको खतराको सूचीबाट हटाइसकेको र यूरोपेली संघले पनि छिट्टै हटाउने जानकारी उहाँले सदनलाई दिनुभयो ।पर्यटन क्षेत्रबाट मुलुकको कूल ग्रार्हस्थ उत्पादनमा विशेष ध्यान दिने लक्ष्य राखी सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको र नेपाल भ्रमण वर्ष विशेष कार्यक्रम मनाउन लागिएको उहाँको भनाइ थियो ।

पर्यटक बढाउनका लागि भौतिक पूर्वाधारको विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्यमा कार्यक्रम अगाडि बढाइने, हरेक प्रदेशमा १०-१०पर्यटकीय क्षेत्र घोषणा गरिने । विगतदेखि नै सञ्चालनमा रहेका पर्यटकीय क्षेत्रलाई थप व्यवस्थित बनाइने उहाँले उल्लेख गर्नुभयो ।

पशुपति, लुम्बिनी र जनकपुरलाई थप प्रचारप्रसार गरी धार्मिक पर्यटनमा योगदान दिने र स्वार्गद्वारीलगायत क्षेत्रमा निजी क्षेत्रसँग मिलेर काम अगाडि बढिने उहाँले स्पष्ट पार्नुभयो । भूकम्पबाट क्षति भएका पुरातात्विक महत्वका सम्पदा तथा क्षेत्रको पुनःनिर्माणलाई समेत विशेष ध्यान दिइएको मन्त्री अधिकारीको भनाइ थियो ।

जनकपुरलाई विश्वसम्पदा सूचीमा

मन्त्री अधिकारीले जनकपुरलाई विश्वसम्पदा सूचीमा राख्न सरकारले प्रयास गरिरहेको जानकारी दिनुभयो । उहाँले संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक सांस्कृतिक संगठन (यूनेस्को)लाई आग्रह गरिएको र प्रक्रिया पूरा भएपछि सूचीमा सूचीकृत हुने बताउनुभयो ।

उहाँले जनकपुर क्षेत्रमा निर्माण हुने भौतिक सम्पदा तथा निर्माणको काम परम्परागत तवरले गर्न समेत आग्रह गर्नुभयो । बैठकमा सांसद खेमराज नेपाली, रामप्रीत पासवान र युटेल तामाङले मन्त्री अधिकारीसँग थप स्पष्टीकरण माग्नुभएको थियो ।

July 8, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *