जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार १५:४६

विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर


भोजपुर, जेठ १

करीब तीन वर्षअघि गाउँमा बिजुली आए पनि भोजपुर नगरपालिका–५, बोखिमका भीम राईको परिवारले धिपधिपे टुकीको भरमा रात कटाउने गर्नुभएको थियो । आर्थिक अवस्था कमजोर भएका कारण उहाँले घरमा बिजुली जोड्न सकेका थिएनन् । तर वडाको सिफारिश लिएर विद्युत् प्राधिकरण पुगेपछि वैशाख दोस्रो हप्ता नै घरमै निःशुल्क मिटरबक्स जडान गरिदियो । ‘निःशुल्क मिटरबक्स पाएपछि बल्ल बिजुली बत्ती बाल्ने सपना पूरा भएको छ,’ उहाँले भन्नुभयो, ‘टुकीको धिपधिपे उज्यालोमा रात काट्नुपर्ने दिन गए ।’

उनीजस्तै मिटर किन्न नसक्ने विपन्न परिवारलाई निःशुल्क मिटरबक्स वितरण गर्न थालिएको छ । नेपाल विद्युत् प्राधिकरणले उपलब्ध गराएको निःशुल्क मिटर पाएपछि विपन्न परिवारको वर्षौंको सपना पूरा भएको हो । वडाको सिफारिशपछि भोजपुर–८, पोखरेका रमेश विश्वकर्माले पनि निःशुल्क मिटर पाउनुभयो । सदरमुकाम छेउमै घर भए पनि आर्थिक अवस्था कमजोर भएकाले उहाँले वर्षौंदेखि दिनरात टुकीमै रात गुजार्नु परेको थियो । प्राधिकरणले निःशुल्क मिटर जडान गरिदिएपछि मात्रै आफ्नो घर उज्यालो बनेको उहाँले बताउनुभयो ।

टेम्केमैयुङ गाउँपालिका–७, कोटका हर्कराज राई र जानुकादेवी राईले पनि वडाको सिफारिशका आधारमा मिटर लिएका छन् । गाउँमा बिजुली पुगेको एक वर्षपछि उनीहरुले पनि सो सेवा उपभोग गर्न पाएका हुन् । गाउँका ५० भन्दा बढी घरधुरीले बिजुली बाल्दा आर्थिक अवस्था कमजोर भएकाले उनीहरुको घरमा बिजुली पुगेको थिएन । भोजपुर–८ का वडाध्यक्ष गोपाल कार्कीले प्राधिकरणको सहयोगले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका परिवारको घरमा बत्ती बाल्ने सपना पूरा भएको बताउनुभयो ।

‘हामीले परिवारको अवस्था हेरेर निःशुल्क मिटरका लागि सिफारिश गर्ने गरेका छौं’ उहाँले भन्नुभयो । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले नौवटै स्थानीय तहका ८१ वटै वडाबाट आर्थिक अवस्था कमजोर भएको सिफारिश ल्याउनेलाई निःशुल्क रूपमा विद्युत् मिटर दिइने जनाएको छ । प्राधिकरणको केन्द्रीय कार्यालयबाट आएको परिपत्रअनुसार विपन्न परिवारलाई विद्युत् मिटर दिन थालिएको वितरण केन्द्रका प्रशासन प्रमुख गणेशप्रसाद खनालले बताउनुभयो । अतिविपन्न परिवार तथा सांस्कृतिक महत्वका सम्पदाका लागि निःशुल्क मिटर उपलब्ध गराइने व्यवस्था छ ।