जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार १६:३७

महासचिव पौडेलको घोषणा : अवको केही घण्टा र केही दिनमा एकताको सवै काम सकिन्छ


काठमाडौं, जेठ १

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले अवको केही घण्टाभित्रै पार्टी एकताको बाँकी काम सम्पन्न हुने घोषणा गर्नुभएको छ । नेकपा एमाले र एमाओवादी केन्द्र एकता भएको पर्सि जेठ ३ गते एक वर्ष पुगेको दिन एकताको बाँकी काम सकिने घोषणा महासचिव पौडेलले गर्नुभएको हो ।

‘पार्टी एकता भएको एक वर्षमा पनि भातृ संगठनहरू एकता सकिएन भन्ने गुनासो छ, एकता केही घण्टा र केही दिनका कुरा हुन, छिट्टै सकिन्छ,’ युवा संघ नेपालले आफ्नो स्थापना दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा महासचिव पौडेलले भन्नुभयो ।

उहाँले जेठ ३ सम्म पार्टीका सबै क्षेत्रमा एकता सकिने भन्दै कार्यकर्तामा उत्साह भर्नुभएको हो । महासचिव पौडेलले एकतापछि बन्ने युवा संगठन शक्तिशाली हुने ठोकुवा पनि गर्नुभयो । कार्यक्रममा महासचिव पौडेलले युवा संघ र वाइसिएलबीच एकता गरेपछि बन्ने संगठनले युवाहरूको चाहनाअनुसार काम गर्ने बताउनु भयो । उहाँले मुलुकको बदलिएको भूमिकाअनुसार पार्टीका युवा संगठनलाई अघि बढ्न निर्देशनसमेत दिनुभयो ।

‘सडक आन्दोलन गरिराख्नुपर्ने अवस्था छैन, अहिले हामी सरकारमा छौं, सरकारसँग युवाहरूले प्रतिपक्ष भूमिका खेल्ने होइन । एकै ठाउँमा बसेर छलफल गर्ने भूमिकामा युवाहरू रहनुपर्छ,’ महासचिव पौडेलको निर्देशन थियो ।