जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार १७:०२

माधव नेपाल र झलनाथ खनालकै सामू अध्यक्ष प्रचण्डले सोधे कडा प्रश्न


काठमाडौं, जेठ १

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले एक–दुई दिनमै एकताको सवै काम टुंगिसक्ने उदघोष गर्नुभएको छ ।

पार्टी एकताको दिन पारेर एकताको बाँकी काम सकाउने गृहकार्यमा लाग्नुभएका अध्यक्ष प्रचण्डले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कनु भएपछि भोलि नै एकताको बिषयमा टुंगो लगाउने गरी अन्तिम गृहकार्य हुने जानकारी पनि दिनुभयो । ‘अब एकता टुंगिसक्यो, हल्ला भएको दिन एकता घोषणा हुन्छ कि हुँदैन म भन्न सक्दिनँ तर एक दुई दिनमै सबै एकता टुंगिसक्छ,’ युवा संघ नेपालले स्थापना दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रचण्डले भन्नुभयो ।

गत बर्ष जेठ ३ गते एकता हुँदा तीन महिनाभित्र सवै तहको एकीकरण सकाउने घोषणा भएपनि नेताहरुबीचको बिवादले एक बर्षसम्म सवै तहको टुंगो लाग्न सकेको छैन । एकतामा ढिलाई हुँदा जनसंगठनहरु आक्रोशित बन्न थालेपछि अध्यक्ष प्रचण्डले एकता लगभग टुंगिसकेको बताउनु भयो । ‘लगभग एकता टुंगिसकेको छ,’ प्रचण्डले भन्नुभयो, ‘जिल्लाको एकता टुंगिएकै दिन पार्टी एकता टुंगिसकेको छ, घोषणा मात्रै बाँकी हो ।’

कार्यक्रममा अध्यक्ष प्रचण्डले युवा र नेताहरुको साथ पाएमा आफूले नयाँ–नयाँ काम गर्न चाहेको रहस्य पनि खोल्नुभयो । ‘नयाँ–नयाँ काम गरेर मर्न मन छ,’ कार्यक्रममा प्रचण्डको भनाई थियो । प्रचण्डले तत्कालिन एमालेका तीन नेताहरुलाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको भन्दै आफ्नो योगदानलाई अवमूल्यन नगर्न आग्रह पनि गर्नुभयो । मन्च र दर्शकदीर्घामा पूर्वएमाले समर्थित नेता कार्यकर्ताको खचाखच भीडलाई सम्बोधन गर्दै प्रचण्डले आफू समय अनुसार चल्ने नेता भएको ठोकुवा गर्नुभयो ।

‘माधव नेपाल कम्युनिस्ट आन्दोलनको नेता हो, उहाँ संसदमा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो । सबैभन्दा ठूलो पार्टीको नेता हुँदा हुँदै मैले नै झलनाथजीलाई बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा प्रधानमन्त्री बनाएको हुँ । केपी ओलीलाई संविधान बनाउँ तपाई प्रधानमन्त्री भनेको हुँ,’ प्रचण्डले भन्नुभयो, ‘यो पटक पनि चुनावअघिनै केपी कमरेडलाई तपाई प्रधानमन्त्री भनेको हुँ । अब तपाईहरुले मलाई के भन्नुहुन्छ ? अस्थिर भन्नुहुन्छ कि क्या गज्जबको भन्नुहुन्छ ।’