Untitled Document

नदीमाथिको अपराधका कारण बाढी

किशोर थापा

हामीले नदीको हक लाग्ने जमिन आफ्नो घरको कम्पाउन्डमा मिसाएर नदीको प्राकृतिक बहाव क्षेत्रमाथि अपराध गरिरहेका छौँ 

उपत्यकामा मानवबस्तीको विकास

काठमाडौं उपत्यकाको भूगोल झट्ट हेर्दा उपत्यका जस्तो छ । सम्म देखिन्छ । वरिपरि डाँडाकाँडा छन् । सम्म क्षेत्रमा पनि होचाहोचा थुम्का छन् । केही अग्ला डिस्का, टारहरू र डोल क्षेत्र पनि छन् । डोल क्षेत्र भनेको नदीको दुवैतिर पानी पस्ने र जम्ने सम्भावना भएको गहिरो ठाउँ हो ।

जसले गर्दा नदीको पानी पस्न सक्ने र नदीलाई दायाँबायाँ गराउन सक्ने सम्भावना हुन्छ । विगतमा हाम्रा पुर्खाले थुम्का र ढिस्कोमा बस्ती बसाएका थिए । हुनुपर्ने पनि त्यही थियो । किनकि त्यहाँ धान खेती नहुने, अलिअलि मकै खेती र अन्य बाली हुने गथ्र्यो । डोल क्षेत्रमा धान खेती धेरै हुने कारण पनि बस्ती बसाउने गरिँदैनथ्यो । फाँटहरूमा बाढी पस्न सक्ने कारण बस्ती बस्दैनथ्यो । अर्कोतिर फाँटमा बस्ती हुँदा धानखेती पनि मासिन्थ्यो । तर, यस्तो अवस्था रहिरहेन ।

विशेष गरेर ००७ सालमा डोल क्षेत्रमा पनि घर बनाउन थालियो । अहिले बाढीको समस्या आएको डोल क्षेत्रमा हो । काठमाडौं उपत्यकामा बागमतीसहित ९ वटा मुख्य शाखानदी छन् । बागमती र शाखानदी बग्ने दायाँबायाँका फाँट, जसमा प्रशस्त कृषि उपार्जन हुने गथ्र्यो, त्यहाँ मानव आबादीमा दु्रत विस्तार हुन थाल्यो ।

यसले तत्काल वा केही वर्ष मानिसलाई सहजता र सामान्य जीवनयापनका लागि सजिलो बनाएको भए पनि दीर्घकालीन रूपमा बाढीको खतरा देखिन पुग्यो । यो जानकारी वास्तवमा कतिपय त्यस्तो ठाउँमा घर निर्माण गरेर बसिरहेकालाई समेत नहुन सक्छ ।

मानिसले गरेको नदीमाथिको अपराध

हामीले नदीको प्राकृतिक बहाव क्षेत्रमाथि अपराध गरिरहेका छौँ । नदीको स्वाभाविक बहाव क्षेत्रमा घर र अन्य संरचना निर्माण गरेका छौँ । नदीको हक लाग्ने जमिन मानिसले आफ्नो घरको कम्पाउन्डमा मिसाएका छन् । मानव निर्मित संरचनाले नदीको बाटोलाई साँघुरो बनाइएको छ ।

यो योजनाबद्ध रूपमा विकास गरिएको भने होइन । तर, निश्चिय पनि विगत २०–२५ वर्षदेखि नदी अतिक्रमण गर्ने प्रवृत्ति अधिक भयो । यस्तो अतिक्रमणलाई सरकारले पनि नियन्त्रण गर्न सकेन । यससँगै अतिक्रमण गर्ने काम यति व्यापक भयो कि अतिक्रमण संस्कारको रूपमा विकास हुन पुग्यो । किनकि एउटा व्यक्तिले पनि अतिक्रमण गरेको छ, संस्थाले पनि गरेको छ । यसलाई सरकारी निकायसम्मले पनि छाडेको छैन ।

नदीको किनारमा विद्यालय सञ्चालन गरिएको छ । उद्योग कारखाना सञ्चालन गरिएको छ । सैनिक र प्रहरीका ब्यारेक स्थापना गरिएको छ । सरकारी कार्यालय छन् । त्यसबाहेक निजी रूपमा गरिएको अतिक्रमण अझ डरलाग्दो छ । अतिक्रमण भएकै कारण समस्या आएको हो ।

फेरि नदीले आफ्नो बाटो लिन्छ । नदी आज सुकेर सानो भए वा बहावमा केही परिवर्तन आए पनि हरेक ५० वर्षमा एउटा ठूलो बाढी आउने वैज्ञानिक अध्ययनले बताउँछ । यसकारण यो गुणलाई सबैले आत्मसात् गर्न आवश्यक छ । त्यसो गर्न सकियो भने मात्र हामीले नदीप्रति गर्ने व्यवहार सकारात्मक र सही हुन सक्छ ।

नदी एउटा प्राकृतिक स्रोत पनि हो । यसमाथि हुने अतिक्रमण घटाउनुपर्ने थियो । तर, नेपालमा यस्तो अतिक्रमण घटाउन नसकिएको अवस्था छ । विशेषगरी काठमाडौं उपत्यकामा देशका अन्य क्षेत्रको तुलनामा अतिक्रमण तीव्र र आक्रामक छ ।

सरकारले त्यसमा न्यूनीकरण गर्न सकेको छैन । सरकारको तर्फबाट गर्न खोज्दा पनि नियन्त्रण गर्न सकिएको छैन । अदालतबाट विभिन्न समयमा अतिक्रमणबारे आदेश र फैसला हुने गरेका छन् । तिनको पनि कार्यान्वयन हुन सकिरहेको छैन । अर्कोतिर अतिक्रमण गर्नेहरू अत्यन्त शक्तिशाली छन् । सरकार नै झुक्नुपर्ने अवस्था छ ।

नदी आज सुकेर सानो भए वा बहावमा केही परिवर्तन आए पनि हरेक ५० वर्षमा एउटा ठूलो बाढी आउने वैज्ञानिक अध्ययनले बताउँछ । यसकारण यो गुणलाई सबैले आत्मसात् गर्न आवश्यक छ । त्यसो गर्न सकियो भने मात्र हामीले नदीप्रति गर्ने व्यवहार सकारात्मक र सही हुन सक्छ ।

नियन्त्रण गर्न नसक्नुको कारण

नदीमाथिको अतिक्रमण र अव्यवस्थित बसोवास न्यूनीकरण र व्यवस्थित गर्ने जिम्मा राज्यको हो । तर, त्यस्तो भूमिका खेल्न राज्यले नसकेको स्पष्ट छ । अपेक्षित भूमिका खेल्न नसक्नुका कारण पनि छन् । स्थानीय सरकार विगत झन्डै दुई दशकसम्म खाली रहे ।

उनीहरू सक्रिय रहेका हुन्थे भने अहिलेको भयावह अवस्था नआउने सम्भावना थियो । अर्कोतिर सरकारको प्रभाव पनि कम भयो । अस्थिर सरकार बने र यस्ता विषय प्राथमिकतामा परेनन् । यससँगै यो अवस्था हिजो वा अस्तिको परिणाम होइन ।यो त विगत साढे २ दशकको समग्र कृत्यको जोड हो । यस सन्दर्भमा एउटा घटना सान्दर्भिक छ । ०४५ सालतिर डा। प्रकाशचन्द्र लोहनी आवास तथा भौतिक योजनामन्त्री हु“दा सम्पूर्ण डोल क्षेत्रलाई बस्ती विकासका लागि निषेधित गर्ने निर्णय भएको थियो । डोल क्षेत्रलाई संरक्षण गर्ने, बस्ती नबसाउने भनिएको थियो ।

त्यसवेला डोल क्षेत्रका जग्गा प्लटिङ गर्र्ने कार्यसमेत रोक्का भएको थियो । बहुदल आएपछि डोल क्षेत्रमा बसोवास नबसाउने निर्णयलाई उल्ट्याइयो । त्यसकै परिणाम अहिले भोग्नुपरेको छ । नदीको किनारमा बाटो बनाइएको छ । त्यसबाहेक विभिन्न संरचना निर्माण गरिएको छ । यसले समग्रमा नदीलाई साँघुरो बनाउँदै लगेको छ । जति बहाव क्षेत्र छाड्नुपर्ने हो, त्यति छोडिएको छैन । नदीलाई कति जग्गा दिने वा नदिने भन्ने प्रश्न नै होइन ।

त्यहाँ संरचना बनाउनु नै हुँदैन । बरु खेती गर्न सकिन्छ । पार्क निर्माण गर्न सकिन्छ । त्यसो गर्दा सुरक्षित नै हुने थियो । सरकारले धेरै पहिले ल्याएको डोल क्षेत्रमा बसोवास नगराउने नीति पनि उल्ट्याइएको छ । यसकारण फाँट र डोल क्षेत्र बच्न सकेनन् । यसरी हामीले गल्ती गरेका छौँ । त्यसको परिणाम देखिन थालेको छ ।

बस्ती कसरी बसाउनुपथ्र्यो ?

सबैभन्दा पहिला त खेती गर्ने ठाउँ र बस्ती बस्ने ठाउँ छुट्टिनु नै पर्छ । हामी बस्ती पनि बसाउनुपर्ने, खेती पनि गर्नुपर्ने गरी अगाडि बढ्यौँ, जुन सही होइन । दुवै खोज्दा समस्या आएको हो । खेती होचो ठाउँ, नदीको किनारमा गर्ने हो ।

त्योभन्दा अलि भिरालो जमिनमा बस्ती बसाउने र त्योभन्दा माथिको डाँडामा वृक्षरोपण गर्ने र वन जोगाउने गर्नुपर्ने थियो । त्यसो गर्दा वनले पानीलाई सोसेर राख्छ । मूल फुटेर आउँछ । बस्तीमा पानी ल्याउन सजिलो हुन्छ ।

अहिले बस्तीले प्रयोग गरेर खेर गएको पानी बगेर तल खेतबारीमा जान्छ । यसरी बस्तीको विकास गरिनुपर्ने थियो । विगत र अझै पनि हाम्रो गाउँतिर गयो भने यस्तै अवस्था देखिन्छ । त्यही भएर बेसीमा खेती लगाउने र अलि अग्लो ठाउँमा बस्दा हावा चल्छ र बस्न सहज हुन्छ । पानी जम्ने समस्या पनि हुँदैन । गर्नुपर्ने पनि यस्तै थियो ।

तर, हामीले यस्तो गरेनौँ, फाँटमा सडक बन्न थाले अनि जहाँ सडक बने त्यहीँ घडेरी र घर बन्न थाले । जहाँ बस्ती छ, त्यहाँ सडक बन्नुपर्ने थियो । तर, खेतको बीचमा सडक बनेपछि खेती बसोवासका लागि प्रयोग हुन थाल्यो । सडक डाँडो वा खेतभन्दा माथितिर निर्माण गरिदिएको भए बस्ती पनि त्यहीँ बस्ने थियो ।

अब के गर्ने ?

अहिले सहरीकरणमा जलवायु परिवर्तनका प्रभाव पनि धेरै देखिन थालेका छन् । पछिल्लो समय वर्षा पनि भीषण वा अतिवृष्टि हुन थालेको छ । पहिले सात दिनसम्म पानी परे पनि बिस्तारै झरी पर्ने गरेको थियो । अहिले एक वा दुई घन्टा पानी पर्ने र पूरै सहरलाई नै डुबाउने गरी पानी बर्सने गरेको देखिन्छ ।

यसले सहरका ढलले पनि धान्न नसक्ने अवस्था आउने गरेको छ । यसलाई अहिले जापानले भोगिरहेको डुबान र बाढीबाट पनि बुझ्न सकिन्छ । उनीहरूको उच्च तयारी हुँदाहुँदै पनि झन्डै २ सयको हाराहारीमा मानिसको मृत्यु भएको छ । जबकि विपत् तयारीका लागि नेपाल नमुना देश हो ।

यसकारण अब हामीले बाढीको तयारी थाल्नुप(यो । बाढीको प्रकोप पनि हुन सक्छ भनेर तयारी गर्नुप¥यो । त्यो हाम्रो घर र टोलमा पनि हुनुपर्छ । बाढीको प्रकोप बढ्नुको अर्को कारण घरमा बनाइने ‘कम्पाउन्ड वाल’ पनि हो । यस्ता पर्खाल अग्ला बनाउनु भएन । यसले पानीलाई निकास नदिने अवस्था छ । बरु जाली हाले हुन्छ । होचो कम्पाउन्ड हुँदा पानी बगेर जान्छ । पर्खालले छेक्दा डुबानको समस्या अझ बिकराल हुन्छ ।

अहिले भक्तपुरमा आएको बाढीको एउटा कारण कम्पाउन्ड वाल पनि हो । त्यस्ता पर्खालले पानीको बहाव रोकिदियो । यसको कारण समस्या देखिएको हो । बाढी आउँछ तर त्यसलाई बगेर जाने वातावरण बनाइदिनुप(यो । अर्कोतिर तयारीलाई तीव्रता दिनुप(यो । धोबीखोला सानो देखिँदैमा यसमा बाढी आउँदैन भन्न सकिँदैन । हामीले पत्तै पाउँदैनौँ । राति सुतेकै अवस्थामा बगाएर लैजान सक्ने सम्भावना हुन्छ ।

राज्यको भूमिका

राज्य अधिकतम जनताको हितका लागि निर्मम रूपमा प्रस्तुत हुनुपर्छ । सरकारको कर्तव्य भनेकै जनताको जिउधनको रक्षा गर्ने हो । नदीनालालाई ढलान गरेर छोप्ने संस्कारको अन्त्य गर्नुपर्छ । खोल्सा र साना नदीलाई सानो भनेर, हेपेर ढलान गर्ने कार्य बन्द गर्नुपर्छ ।

कतिपय स्थानमा त ढलान गरेर प्लटिङ गर्ने र खरिद–बिक्रीसमेत गर्ने गरिएको छ । यस्ता कार्य भइरहेको रहेछ भने पनि रोक्नुपर्छ । यस्तो कार्य देशभर चलिरहेको छ । घरजग्गाको व्यवसायमा लागेकाहरू रातारात मालामाल हुनका लागि पनि नदीको दुरुपयोग गरिरहेका छन् । किनकि नदी बोल्दैन, तर एक दिन नदीले आफ्नो क्षेत्रलाई खोसेर भए पनि कब्जामा लिन्छ र उसको त्यो रूपलाई कसैले रोक्न सक्दैन ।

अहिले पनि हामीस“ग केही नीति–नियम छन् । त्यसको कार्यान्वयनले पनि धेरै गर्न सकिन्छ । सार्वजनिक जग्गा, नदीको क्षेत्राधिकारजस्ता विषयसँग सम्बन्धित नीति–नियम छन् । समयअनुसार अद्यावधिक भने गरिनुपर्छ । यो काम अब स्थानीय निकायले गर्नुपर्छ । गाउँपालिका र नगरपालिकाले यस्तो काम गर्न सक्छन् । आफ्नो क्षेत्रमा बग्ने नदीको संरक्षणमा प्रभावकारी भूमिका खेल्न सक्छन् । अब काठमाडौंमा ऐन–नियम बनाएर हुँदैन, स्थानीय तहले प्रभावकारी भूमिका खेल्न सक्नुपर्छ ।

मापदण्ड निर्माण गरेर घर बनाउन नपाइने तर हरियाली राख्नुपर्ने व्यवस्था गर्न सकिन्छ । टोलटोलमा यस्ता विपत्को समयमा लड्ने र प्रभावकारी व्यवस्थापनका लागि तयारी गर्ने कामलाई पनि प्राथमिकता दिनुपर्छ । अहिले पूर्वजानकारी दिने प्रविधिको पनि विकास भइसकेको छ । त्यसलाई प्रयोग गर्नुपर्छ । म सहरमा वा चारतले घरमा बसेको छु, ढुक्क छु भन्नु भएन । भक्तपुरमा भएको डुबान र बाढीपछि अबको कार्य उद्धार हो । यससँगसँगै कसरी बाढी आउने रहेछ, के सचेतता अपनाउने, कहाँ बस्ती बसाल्ने जस्ता विषयमा स्थानीय तहका नेतृत्वले विशेष ध्यान दिनुपर्छ ।

(थापा सहरी योजनाविद् तथा सहरी विकास मन्त्रालयका पूर्वसचिव हुन्)

July 13, 2018मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *