जनता टाइम्स

२८ माघ २०७६, मंगलवार ०९:०६

गृहमन्त्रीका भाइ नरेशलाई थुनामै राख्न उच्च अदालत पाटनको आदेश, यस्तो छ कारण


ललितपुर । उच्च अदालत पाटनले गृहमन्त्री रामबहादुर थापाका साहिँला भाइ नरेशकुमार थापालाई थुनामा राख्न आदेश दिएको छ । थापाविरुद्धको ‘आपराधिक लाभ र संगठित अपराध’ मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदी र श्रीमणकुमार गौतमको संयुक्त इजलासले गृहमन्त्री थापाका भाई नरेशलई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

फिरौती उठाउने गिरोहसँगको मिलिभगतमा व्यवसायीलाई धम्क्याएर रकम असुलेको अभियोगमा थापालाई थुनामा राख्न उच्च अदालतले आदेश दिएको हो । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेत समूहमा आबद्ध भएर व्यवसायीसँग पैसा असुलीमा संलग्न रहेको पाइएपछि नरेशलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) ले पक्राउ गरेको थियो ।

सिआइबीले थापा भन्दा एक महिनाअघि नै बस्नेत समूहका पवन खड्का र सुरेन नगरकोटीलाई भने पक्राउ गरेर संगठित अपराधमा मुद्दा दर्ता गरेको थियो । पक्राउ परेका दुवै जनाले नरेशको नाम लिएपछि उनीविरुद्ध पनि सिआइबीले मुद्दा दायर गरेको थियो ।

गौचन हत्याका मुख्य योजनाकार बस्नेतको समूहले पैसा नदिए ज्यान मार्ने धम्की दिएपछि निर्माण व्यवसायीहरूले सिआइबीमा उजुरी गरेका थिए । धम्की दिने समूहको कल ट्रेस गर्दा थापासमेत संलग्न देखिएपछि सिआइबीले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । काठमाडौं अदालतले धरौटीमा छाडने आदेश दिएपछि रिहा भएका नरेशलाई उच्च अदालतले थुनामै राख्न आदेश दिएको हो ।