जनता टाइम्स

१ जेष्ठ २०७६, बुधबार २१:३३

बिमानस्थलबाटै प्रधानमन्त्री ओलीको घोषणा : मिडिया काउन्सिल बिद्येयक प्रेसमैत्री हुन्छ


काठमाडौं, जेठ १

प्रधानमन्त्री केपी शर्मा ओलीले मिडिया काउन्सिल बिद्येयक नेपाली प्रेसको भावना भन्दा बाहिर गएर पारित नहुने प्रष्ट पार्नुभएको छ । भियतनाम र कम्बोडियाको राजकीय भ्रमण पूरा गरी आज साँझ स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले बिमानस्थलमै पत्रकार सम्मेलन गरी मिडिया काउन्सिल बिद्येयकलाई संसदले आवश्यक छलफल र परिमार्जन गर्ने प्रष्ट पार्नुभएको हो ।

‘मिडिया काउन्सिल बिद्येयक सरकारले संसदमा दर्ता गरेको छ, संसदमा हामी सवै बसेर छलफल गर्न सक्छौं, सरकारले पारित गरेर पठाएको निर्देशिकाहरु छलफल, परिमार्जन गर्न सक्छौं, यस्मा सरकार प्रष्ट छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो । उहाँले संसदमा छलफलपछि सवैको भावना समेटने गरी साझा दस्तावेजको रुपमा बिद्येयक पारित हुने र बिद्येयकले सभ्य समाजका लागि आवश्यक सवै जना सामुहिक बसेर समाचार पढन र सुन्न सक्ने बातावरण सिर्जना गर्ने बताउनु भयो ।

‘संसदले छलफल गरी यथोचित ढंगले पारित गर्छ, संसद भन्दा अगाडि सरेर लोकतन्त्रको बदनाम गर्नु पर्ने कुनै कारण छैन, अहिलेको सरकार जननिर्वाचित लोकतान्त्रिक सरकार हो, यो सरकारले लोकतान्त्रिक मान्यताबिरोधी कुनै काम गर्दैन,’ प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले संसदमा बिद्येयक च्यातचुत पारेर बहशको ढोका बन्द गर्ने काम नगर्न पनि सुझाउनु भयो ।

‘संसदमा बहश हुन्छ, छलफल हुन्छ, आवश्यक परिमार्जन हुन्छ, तर आवेगजन्य, उत्तेजनाजन्यकाम गर्ने, च्यातच्यूत गर्ने कुरा ठीक होइन, बहश सोभनीय हुन्छ, च्यात्ने काम सोभनीय हुँदैन, सभ्य भाषामा समाचार पढन पाइयोस, सुन्न पाइयोस, मानमर्दन गर्ने, इज्जतमा हुर्मत लिने गरी अनुचितर निराधार कुराले समाजलाई बिकृतितर्फ लान्छ, सरकार यसतर्फ भने सचेत छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो ।

यसअघि नेकपाका महासचिव बिष्णु पौडेलले पनि बिद्येयक पारित भएपछि सवै नेपाली प्रेसले दिपावली गर्ने बताउनु भएको थियो । नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले पनि नेपाली प्रेसको भावनाअनुसार नै बिद्येयक पारित हुने घोषणा गर्नुभएको हो ।