जनता टाइम्स

२ जेष्ठ २०७६, बिहीबार ०८:४५

सिहदरवारमा यसरी बन्दैछ १० अर्बको नयाँ संसद भवन, मासिक लाखौ भाडा बच्ने


काठमाडौँ ।

अबको करिब तीनवर्षभित्र सिंहदरबार परिसरमा सरकारको आफ्नै संसद् भवन निर्माण गर्ने गरी डिजाइनलाई अन्तिम रुप दिने काम भइरहेको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा २०६५ सालदेखि भाडा तिरेर संसद् सञ्चालन हुँदैआएको छ ।

सहरी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता कृष्णप्रसाद दवाडीले सिंहदरबारमा निर्माण हुने प्रस्तावित संसद भवन परिसरको डिजाइनलाई अन्तिम रुप दिने कार्य भइरहेको जानकारी दिनुभयो । सहरी मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर संसद् परिसर निर्माण प्रक्रियालाई अगाडि बढाएको बताउँदै उहाँले जेठको दोस्रो हप्ताभित्र डिजाइन कार्यलाई अन्तिम रुप दिएर ‘टेन्डर’ प्रक्रियामा जाने जानकारी दिनुभयो । यसका लागि ग्लोबल ‘टेन्डर’ आह्वान गरिने छ ।

प्रवक्ता दवाडीका अनुसार, २०७८ सालको असारसम्म संसद् परिसर निर्माण गरिसक्ने लक्ष्य रहेको छ । निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकेको अवस्थामा बढीमा ६ महिनाको समयावधि थप गरिने छ । अन्तर्राष्ट्रिय स्तरको यो भवन परिसर नेपालको अहिलेसम्मकै अत्याधुनिक र बलियो हुने बताईएको छ । उहाँले भन्नुभयो, “प्रस्तावित संसद परिषद्को नक्सा तथा डिजाइनबारे अहिले छलफल भइरहेको छ, यसअघि नक्सा र डिजाइनबारे भएको छलफल ग¥यौँ, तयार पारिएको नक्सा र डिजाइनमा संशोधन गर्ने अवस्था आएकाले अहिले नक्सा र डिजाइनलाई अन्तिम रुप दिने कार्य भइरहेको छ ।” सिंहदरबारको उत्तर–पूर्वमा रहेको पुतली बगैंचाको करिब ५६ रोपनी क्षेत्रफलमा संसद् परिसर निर्माण गरिने जानकारी समेत उहाँले दिनुभयो ।

यस्तो बन्दैछ संसद् परिसर

मुलुकको भवन निर्माणको इतिहासमा अहिलेसम्मकै सबभन्दा ठूलो अयोजनाको रुपमा रहेको यो संसद परिसरको कूल निर्माण लागत करिब १० अर्ब रुपियाँ हुने जनाइएको छ । संसद परिसर निर्माणका लागि वजेट र स्रोतको अभाव नहुने मन्त्रालयका प्रवक्ता दवाडीले बताउनुभयो ।

प्रस्तावित संसद् परिसरमा माथिल्लो सदन, तल्लो सदन, संसद सचिवालय, राजनीतिक पार्टीका संसदीय दलका कार्यालयहरू, विभिन्न समितिका भवन र तीनका हलहरू बन्ने छ । साथै करिब तीन सयजना अटने सुरक्षाकर्मीहरुका लागि भवन छुटाछुट्टै पनि निर्माण गरिने छ । परिसर भवनमा तीनतल्ले पार्किङ समेत निर्माण गरिने छ । छुटाछुट्टै भवन निर्माण गरिए पनि राष्ट्रपति, प्रधानमन्त्री, विदेशी विशिष्ट पाहुनाहरूबाट हुने सम्बोधनका लागि दुइवटै संसदका सदस्यहरू र त्यसमा उपस्थित हुनुपर्ने विशिष्ट महानुभावहरू समेत अटाउने खालको एउटा हल समेत निर्माण गरिने जानकारी उहाँले दिनुभयो ।

परिसरमा भीभीआइपी, सांसद, कर्मचारीलगायत विभिन्न तह र दर्जाका लागि छुटाछुट्टै प्रवेशद्धार निर्माण हुने बताईएको छ । त्यसैगरी, संसद परिसरमा बगैँचा र चौर समेत हुने जनाइएको छ ।

भाडामा अर्बौ रुपियाँ खर्च

नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन प्रयोग गरेवापत संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिलाई अहिलेसम्म भाडा वापत एक अर्बभन्दा बढी रकम बुझाइसकेको छ । सचिवालयले अहिले भाडा वापत वार्षिक पन्ध्र करोड रुपियाँ तिर्ने गरेको जानकारी समितिका कार्यकारी निर्देशक पुरुषोत्तम आमात्यले दिनुभयो ।

संसद् सचिवालय र समितिबीच भएको सम्झौतामा प्रत्येक दुई वर्षमा दश प्रतिशत भाडा वृद्धि गर्ने समेत उल्लेख गरिएको छ । अहिलेसम्म तिरिएको भाडा हिसाब गर्ने हो भने एउटा छुट्टै सम्मेलन केन्द्र नै निर्माण हुनसक्ने देखिन्छ ।

अगाडि नै डिजाइन

यसअघि सिंहदरबारमा छुट्टै संसद परिसर निर्माणका लागि २०२५ सालमा समेत डिजाइन बनाउन सुरु गरिएको थियो । तर २०३० सालमा सिंहदरबारमा भएको आगलागीका कारण सो निर्माण कार्य रोकिएको थियो । अहिले गृह मन्त्रालय रहेको भवन त्यस बेला नै निर्माण गरिएको संसद् सचिवालयको भवन हो । (गोरखापत्र)