जनता टाइम्स

४ फाल्गुन २०७६, आईतवार ०८:३५

सङ्घीयता कार्यान्वयनमा आत्मविश्वास र ऊर्जा बढिरहेको छ – मुख्यमन्त्री गुरुङ


पोखरा, फागुन ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समृद्ध प्रदेश बनाउन दीर्घकालीन सोच र योजनाका साथ सरकार अघि बढेको बताउनुभएको छ ।

प्रदेश सरकार स्थापनाको दोस्रो वर्ष पूरा भएको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले सरकारको पहिलो वर्षलाई प्रादेशिक नीति तथा संरचना निर्माणको रुपमा लिइएको र यसको जगको आधारमा सबल र समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने उल्लेख गर्नुभयो ।

सङ्घीयता कार्यान्वयनका क्रममा आत्मविश्वास र ऊर्जा बढिरहेको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सन्देशमा भन्नुभएको छ, “हाम्रा पाइलाहरु गतिवान हुँदैछन् र हाम्रा अनुभवहरु खारिँदै गइरहेका छन् । प्रदेशको सफलतासँगै सङ्घीय शासन व्यवस्थाको सफलता गाँसिएको छ ।”

सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तका आधारमा सङ्घ, प्रदेश र स्थानीय तहको सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिँदै उहाँले लोकतन्त्रको आधारभूत मूल्य मान्यता, बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, पूर्ण प्रेस स्वतन्त्रता र शक्ति पृथकीकरणको सिद्धान्तमा प्रदेश सरकार दृढ रहेको उल्लेख गर्नुभएको छ ।

विभिन्न क्षेत्र समुदाय र वर्गको सुझाव, सल्लाहलाई आत्मसात् गर्दै समृद्ध प्रदेश सुखी नागरिकको आकाङ्क्षा सफल पार्न सरकार तत्पर रहेको मुख्यमन्त्री गुरुङले सन्देशमा जनाउनुभएको छ ।