जनता टाइम्स

५ फाल्गुन २०७६, सोमबार २१:०८

कालापानी क्षेत्रको निरीक्षणपछि उपप्रम पोखरेलको अठोट : अधूरै छोडेका राष्ट्रिय अभिभारा हामी पुरा गर्नेछौं


काठमाडौं, फागुन ५ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले इतिहासले अकर्मण्यताका साथ अधूरै छोडेका राष्ट्रिय अभिभारालाई प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पूरा गरेरै छाडने अठोट गर्नुभएको छ । कालापानी क्षेत्रको आज निरीक्षणपछि नेकपाका सचिवालय सदस्यसमेत रहनुभएका उपप्रम पोखरेलले यस्तो अठोट सार्वजनिक गर्नुभएको हो ।

उपप्रम पोखरेलले आज नेपाली सेनासहित कालापानी क्षेत्रको हवाई निरीक्षण गर्नुभएको थियो । ‘हो, हामी गर्छौ, केपी शर्मा ओलीको नेतृत्वको कम्युनिष्ट पार्टीको सरकारले यी काम ढिलाइ नगरी गर्नेछ, अघि बढाउनेछ । इतिहासले लामो समयदेखि अकर्मण्यतासाथ अधूरै छोडेका राष्ट्रिय अभिभारा हामी पुरा गर्नेछौं !!’ उपप्रम पोखरेलले भन्नुभएको छ ।

यस्तो छ उहाँको अठोट

दार्चुला, कालापानी क्षेत्रको निरिक्षणपछि :

जिल्लाका जनप्रतिनिधिहरू ( प्रतिनिधिसभाका सदस्य, प्रदेश सभाका सदस्यहरू, नेपाली सेनाका तर्फबाट सिमा सुरक्षा हेर्ने समन्वय अधिकारी तथा संचारकर्मीसहित) दार्चुला जिल्लाको कालापानी क्षेत्रको संवेदनशील र अतिक्रमित भूमिको निरीक्षण गर्ने काम गरियो । बाक्लो हिमपातका कारण अवलोकन गर्न चाहेका केही महत्वपूर्ण ठाउँहरूमा स्थलगत भ्रमण गर्न अनुकूलता बनेन । तर पनि यसपटकको ती संवेदनशील र अतिक्रमित ठाउँहरूको स्थलगत अवलोकन भ्रमणले सरकारका तर्फबाट गर्नुपर्ने कामहरू सुनिश्चित गर्न थप सहयोग पुगेको छ । ऐतिहासिक तथ्य प्रमाणहरू तथा सिंगो मुलुकका राजनीतिक शक्तिहरूको साझा र संयुक्त अडानका बलको आधारमा गंभीर राजनीतिकर कुटनीतिक पहललाई अविलम्व अघि बढाउनु त जरूरी छ नै । साथै, पूर्वाधारका ज्वलन्त कामहरू (खासगरी दार्चूला टिंकर भन्ज्यांग सडक बनाउनु पर्ने काम) लाई जुनसुकै तरिकाबाट भए पनि ढिलो नगरी सम्पन्न गर्नुपर्ने छ र आवश्यक र संवेदनशील स्थानमा सुरक्षा अंगहरूको उपयुक्त पोस्टिंग गर्नुपर्ने छ । हो, हामी गर्छौं, केपी शर्मा ओलीको नेतृत्वको कम्युनिष्ट पार्टीको सरकारले यी काम ढिलाइ नगरी गर्नेछ, अघि बढाउनेछ । इतिहासले लामो समयदेखि अकर्मण्यतासाथ अधूरै छोडेका राष्ट्रिय अभिभारा हामी पुरा गर्नेछौं !!