जनता टाइम्स

७ फाल्गुन २०७६, बुधबार ०७:१४

राष्ट्रपति भण्डारीको शुभकामना शन्देश : जनताको चाहना सम्बोधन गर्न प्रजातन्त्र दिवसले प्रेरित गर्ने विश्वास


काठमाडौं, फागुन ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले मुलुकको आर्थिक–सामाजिक रुपान्तरण नेपाली जनताको चाहना भएको र जनताका ती चाहना सम्बोधन गर्न आजको दिनले प्रेरित गर्ने बताउनुभएको छ ।

राष्ट्रपतिले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रजातन्त्र दिवसले सबैलाई प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गर्नुभएको छ ।

राष्ट्रपतिले सन्देशमा प्रजातन्त्रका लागि भएको सङ्घर्षमा जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दैै राष्ट्रपतिले यसलाई प्रजातन्त्रको ठूलो उपलब्धिका रुपमा लिन सकिने बताउनुभएको छ ।

निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरुप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गतेलाई प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आइएको छ ।