जनता टाइम्स

२ जेष्ठ २०७६, बिहीबार १६:५८

जनसंगठनको एकता टुंग्याउने अन्तिम कसरतमा नेकपा


काठमाडौं, जेठ २

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक जनवर्गीय संगठनको एकीकरणको टुंगो लगाउने बिषयमा केन्द्रित भएको छ । बिहान ११ बजेदेखि जारी सचिवालय बैठकमा पोलिटब्युरो गठन र जनसंगठनको एकीकरणको बिषयमा केन्दित रहेर छलफल अघि बढेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा नेकपाका २२ वटा जनबर्गीय संगठनको एकीकरणको टुंगो लगाउने प्रस्ताव रहेको छ । स्रोतका अनुसार तत्कालीन एमालेले १३ वटा र माओवादीले ९ वटा जनसंगठनको नेतृत्व लिने गरी छलफल अघि बढेको छ ।

बैठकको अन्तिम निर्णय नआएपनि बिद्यार्थी र युवामध्ये एक/एक तथा महिला र मजदुरमध्ये एक/एक लिने सहमति भएको छ । संगठनको बाँडफाँडपछि व्यक्तिको बारेमा पनि छलफल हुने बताइएको छ । जिल्ला कमिटी एकीकरणकै मोडलमा साबिक अध्यक्षहरुलाई अध्यक्ष र महासचिव बनाउने वा संयोजक तथा सहसंयोजकको मोडलमा जाने भन्ने टुंगो बैठकबाटै लाग्ने छ ।

एमाले र माओवादीबीच एकता भएको एक बर्ष पुगेको अवसरमा भोलि जनसंगठनको एकताको घोषणा गर्ने नेकपाको योजना छ । सोहीअनुसार सचिवालय बैठकमा आजै जनसंगठनको एकता टुंगो लगाउने गरी छलफल भएको हो । स्रोतका अनुसार बैठकमा कतिपय जनसंगठनको नामको बिषयमा समेत छलफल भएको छ ।