जनता टाइम्स

१८ फाल्गुन २०७६, आईतवार ०९:२४

असिनाले हिउँदेबाली नोक्सानी किसान चिन्तित


डोटी, फागुन १८

जिल्लाको पूर्वीचौकीमा शनिबार साँझ एक्कासी परेको असिनाले खेतबारीमा लगाइएको गहुँ, जौँ, तोरी तथा तरकारी बालीलगायत अन्य बालीमा ठूलो मात्रामा नोक्सानी पुर्याएको छ । पूर्वीचौकी गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत टेकबहादुर खड्काले भन्नुभयो, “साँझ एकाएक परेको असिनाले यहाँका गहुँ, जौँ, तोरी र तरकारीबाली पूरै सखाप पार्यो ।” सो गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले करिब आधा घण्टा असिना परेको र कति क्षति पुर्यायो भन्ने आँकलन नभएको जानकारी दिनुभयो ।

असिनाले पाकेर भित्र्याउनै लागेको हिउँदे बालीमा नोक्सान गरेपछि त्यहाँका किसान चिन्तामा परेका छन् । जिल्लाका लेकाली क्षेत्रमा ती खेतीको भरमा आश्रित किसान असिनापानीले फुलेको तोरी र पाक्नै लागेको गहुँ, जौँखेतीमा क्षति पुर्याएपछि निरास भएको स्थानीय भरतबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “असिनाले किसानलाई निकै समस्या पार्यो ।”

गएको महिना बाक्लो हिमपात भएका कारण गहुँ, जौँलागयतका अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान शनिबार परेको असिनाले पाक्नै लागेको खाद्यान्न बालीमा क्षति पुर्याएपछि निरास भएका छन् । डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले पूर्वीचौकी गाउँपालिका सहित अन्य स्थानमा असिनाले कहाँ के–कति क्षति पुर्याएको छ जानकारी लिने काम भइरहेको जानकारी दिनुभयो ।