जनता टाइम्स

२ जेष्ठ २०७६, बिहीबार १७:४८

एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक गाभिदै, दुई महिनाभित्र मर्जर


काठमाडौं, जेठ २

एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंकलाई गाभ्ने भएको छ । एनएमबी बैंकले प्रति शेयर ७५ रुपैयाँका दरले ओम डेभलपमेन्ट बैंकलाई दिने गरी मर्जर सहमति भएको हो ।

प्राइम कमर्सियल बैंकसँग मर्जर तोडेपछि ओमले एनएमबीलाई छानेको हो । प्राइमले ओमलाई प्रतिशेयर साढे ८२ रुपैयाँका दरले प्राप्ति गर्न खोजेको थियो । कर्मचारी समायोजनमा बिबाद भएपछि ओम र प्राइमको मर्जर सैद्धान्तिक स्वीकृति पाएपछि तोडिएको थियो । एनएमबी र ओमका मर्जर समिति संयोजकहरुले समझदारी पत्रमा आज हस्ताक्षर गरेका छन्। एनएमबीबाट प्रदीपराज पाण्डे र ओमबाट योगेन्द्रलाल श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

ओमको अहिले शेयर रोक्का रहेको छ । मर्जरको निर्णय गरेकाले अब एनएमबीको पनि शेयर कारोबार रोक्का हुने छ । संस्थागत सुशासन राम्रो भएकाले एमएमबीलाई मर्जरका लागि छानेको प्रधानले बताउनु भयो । पाण्डेले भने दुई संस्था गाभिएपछि अझ सबल र बलियो बन्ने बताउनु भयो ।

अहिले एनएमबी बैंकको चुक्ता पूँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने ओमको दुई अर्ब ५१ करोड रुपैयाँ छ । स्वाप रेसियो ७५ प्रतिशत हुँदा ओमको शेयर पूँजी एक अर्ब ८८ करोड रुपैयाँमा झर्नेछ । त्यसपछि नयाँ बन्ने बैंकको पूँजी ११ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ । ओमको पूँजीबाट उब्रिएको पैसा जगेडा कोषमा जाने छ । जगेडा कोष ८ अर्ब २८ करोड रुपैयाँको हुनेछ । यो रकमबाट बैंकले बोनस शेयर दिन सक्छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक वित्तिय विवरण अनुसार दुई बैंक एक आपसमा गाभिएसँगै निक्षेप एक खर्ब १८ अर्ब रुपैयाँ नाघ्नेछ । हाल एनएमबी बैंकसँग ९३ अर्ब रुपैयाँभन्दा धेरै निक्षेप रहेको छ भने ओमसँग २४ अर्ब रुपैयाँभन्दा धेरै निक्षेप छ । यस्तै ऋण लगानी पनि एक खर्ब १२ अर्ब रुपैयाँ नाघ्नेछ । हाल एनएमबीले ९० अर्ब रुपैयाँभन्दा बढी ऋण लगानी गरेको छ भने ओमले २२ अर्ब ४९ करोड रुपैयाँ ऋण लगानी रहेको छ । आज आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार गाभिएपछि ओम डेभलपमेन्ट बैंकको नयाँ बैंकमा शेयर हिस्सा १६.३९ प्रतिशत हुनेछ भने एनएमबी बैंकको ८३.६० प्रतिशत कायम हुनेछ ।

हाल एनएमबी बैंकको २० प्रतिशत शेयर नेदरल्याण्ड (एफएमओको रहेको छ । ओम गाभिएसँगै एफएमओको शेयर स्वामित्व घट्नेछ । यही अनुपातमा सञ्चालक समितिमा प्रतिनिधित्व गरिने कार्यक्रममा जानकारी दिइएको थियो ।

एनएमबीमा एफएमओको २० प्रतिशत अर्थात एक अर्ब ९२ करोड रुपैयाँ शेयर पूँजी रहेको छ । यहि पूँजीका आधारमा उसको २० प्रतिशतको हिस्सा १६.७२ प्रतिशतमा खुम्चिने छ । हाल एनएमबी बैंकको कस्ट अफ फण्ड ७.२५ प्रतिशत रहेको छ भने ओमको ९.०५ प्रतिशत छ । हाल एनएमबी बैंकको ११० वटा शाखा कार्यालय रहेको छ भने ओमको ५३ वटा रहेको छ ।