जनता टाइम्स

३ जेष्ठ २०७६, शुक्रबार ०८:२६

मोरङमा रहेको मदनको त्यो घर


मोरङ ।

पुरानो काठको दुईतले घर, माथिल्लो तलामा वरिपरि कोठैकोठा । एउटा कोठाबाट छिरेको मानिस भित्रभित्रै सबै कोठामा पुग्न सक्ने ढोका निर्माण । त्यति मात्र होइन, एउटा कोठाको ढोका नखोली अर्को कोठाभित्र छिर्नसक्ने खालका गोप्य छिड्किनी । अनि माथिल्लो तलाको कोठाबाट भित्रभित्रै सुरुङमार्गमार्फत भुइँतलामा आइपुग्ने छुट्टै बाटो छ ।

यही सुरुङमार्ग हुँदै घरबाट पश्चिम निस्किएर नजिकै रहेको खोलामा पुग्न सकिने गरी परिकल्पना गरिएको छ । काठको घर भए पनि माथि नै शौच गर्ने स्थान । प्रायः सबै कोठामा प्रेरक नारा लेखिएका छन् । मोरङको रतुवामाई नगरपालिका–१० स्थित सातपिडीमा रहेको यो घर सामान्य नागरिकको होइन, देशलाई कायाकल्प गर्ने सपना बुनेर राजनीतिमा होमिनुभएका जननेता मदन भण्डारीको हो । यो घर कुनै इन्जिनियरले नक्सा बनाएर निर्माण गरिएको थिएन, यसको परिकल्पनाकार हुनुहुन्थ्यो स्वयं भण्डारी । पञ्चायतकालीन प्रतिकूल समयमा नेपालमा कम्युनिस्ट आन्दोलनलाई जनजनमा पु¥याउन भूमिगत राजनीतिमा होमिनुभएका जननेता भण्डारीले प्रहरीबाट बच्नका लागि यस्तो घर निर्माण गर्नुभएको हो । यही घरमा कम्युनिस्ट पार्टीका सम्पूर्ण प्रशिक्षण कार्यक्रम चल्ने गथ्र्यो । पार्टीको भूमिगत कार्यालयका रूपमा यही घरमा विभिन्न कार्यक्रम हुन्थे । तत्कालीन लोकप्रिय नेता मोदनाथ प्रश्रितसहितका नेताहरू यहीँ बसेर पार्टीका गतिविधि अगाडि बढाउनुहुन्थ्यो ।

ताप्लेजुङको तत्कालीन ढुङ्गेसाँघु गाविस ठोट्नेबाट २०२८ सालमा तराई झर्नुभएका भण्डारीले यही घरबाट पार्टीको काम अघि बढाउनुभयो । उहाँसँगै पहाडबाट झर्नुभएका छिमेकी शिवराज पौडेलका अनुसार मदन भण्डारी २०२४ सालतिर बनारसमा पढ्न जानुभयो । अध्ययन सकेर घर फर्किएपछि भण्डारी नियमित पार्टीको काममा लाग्नुभयो । बनारसमा अध्ययन गर्दा नेता प्रश्रितले नै पुष्पलालसँग मदन भण्डारीलाई भेट गराउनुभएको पौडेलले जानकारी दिनुभयो । कम्युनिस्ट आन्दोलनको नेतृत्व गरिरहेकै अवस्थामा २०५० साल जेठ ३ गते आजैका दिन दासढुङ्गा दुर्घटनामा परी उहाँको निधन भएपछि कम्युनिस्ट आन्दोलनलाई ठूलो क्षति पुग्यो । सङ्ग्रहालयका रूपमा विकास गर्न भनेर यो घरलाई अहिले मदन भण्डारी स्मृति प्रतिष्ठानले खरिद गरेको छ ।

यसको रेखदेखका लागि मदनग्राम पूर्वाधार संरक्षण समितिसमेत गठन गरिएको छ । समितिका अध्यक्ष शिवराज पौडेलले यसलाई यही रूपमा संरक्षण गर्न गुरुयोजना बनाएर अघि बढ्ने बताउनुभयो । भण्डारी सानैदेखि विलक्षण स्वभावका रहेको पौडेलले बताउनुभयो । उहाँको बाल्यकालदेखिकै साथीसमेत रहेका पौडेलले भन्नुभयो, “म र मदन सानैदेखि सँगै थियौँ । म २००९ सालमा जन्मिएको हुँ, उहाँ पनि त्यही साल असार १४ गते जन्मनुभएको हो । ”
जनएकता अजेय शक्ति हो अर्थात् जनताको एकतालाई कसैले जित्न सक्दैन । यो घरको मूलढोकामाथि यस्तै उक्ति लेखिएको छ । यही उक्तिलाई मार्गदर्शन मानेर पार्टी एकता आवश्यक ठानिएको पौडेलको भनाइ छ ।