जनता टाइम्स

३ जेष्ठ २०७६, शुक्रबार १०:५२

देश बनाउने अभियानका विरोधीलाई काम गरेर जवाफ दिने प्रधानमन्त्री ओलीको उद्घोष


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउने अभियानमा अवरोध गर्न केही प्रतिक्रियावादी शक्ति लागि परेको बताउनु भएको छ । उहाले समृद्ध नेपाल बनाउने अभियानमा केही गणतन्त्र विरोधी शक्ति लागेको भन्दै तिनीहरुलाई काम गरेरै देखाउने स्पष्ट पार्नुभएको छ ।

उहाले देशको हित, राष्ट्रियता र लोकतन्त्रको सुदृढ विकासका लागि नेकपा र सरकार लागि परेको बताउनु भयो । मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुमा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो,‘हामी एउटा महान अभियानमा छौं । एउटा महान आन्दोलनमा छौं । केहि शक्तिले जनताको अभियान, जनताको प्रगति देख्न चाहाँदैनन् । उनीहरु त्यस्तालाई भत्काउन चाहान्छन । त्यसको जवाफ काम गरेर दिनेछौं ।’उहाले सरकारले सामाजिक न्याय र समानताको पक्षमा काम गर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले सरकारले बालुवाटार जग्गा प्रकरण, सुनकाण्ड र भष्ट्रचार निर्मुल पार्ने तर्फ केन्द्रीत रहेको उल्लेख गर्नुभयो । ‘बालुवाटारको जग्गाको छानविन हामीले शुरु गर्यो, हमला हामीविरुद्ध छ, खोई बालुवाटारको छानविन, हामीले गर्दैछौं, यो ०४७ सालदेखी विभिन्न समयमा विभिन्न ढंगले के के भएको छ भनेर हामी छानविन गर्दैछौं । फेरी आरोप हाम्रा विरुद्ध छ’, उहाले अगाडी भन्नुभयो,‘सुनकाण्डका तस्करीलाई हामीले रोकिदियौं, बन्द गरिदिऔं, विरोध हाम्राविरुद्ध हुन्छ ।’ उहाले भष्ट्रचारविरुद्धको कारवाही पनि पहिलाको भन्दा सशक्त ढंगले लगिएको जिकिर गर्नुभयो । उहाले ‘मेरो सरकार’ प्रकरणमा बुद्धिजीवीहरूले ‘स्याल हुइँया’ मचाएको बताउनु भयो ।

नीति तथा कार्यक्रममा केही कमजोरी नभेटिएपछि ‘मेरो सरकार’ भन्यो भन्दै आरोप लगाइएको जिकिर गर्नुभयो । ‘मेरो सरकार होइन भने कसको सरकार हो त ?’ ओलीले प्रश्न गर्नुभयो, ‘राष्ट्रपतिले अर्कै सरकारको प्रतिवेदन पढ्ने हो र ? संसारभरि के गरिन्छ ?’ जनवर्गीय संगठन एकीकरणमा असन्तुष्टि जनाएकाहरूलाई प्रधानमन्त्री ओलीले चित्त सानो नपार्न सुझाव समेत दिनुभयो । ‘यतिबेला चित्त सानो पार्ने होइन, मन दुखाउने होइन, यतिबेला फराकिलो मनका साथ एकता र एकीकरणको भावनालाई आत्मसाथ गर्ने हो । २ वटा पार्टीलाई एक बनाएका छौं र नछुट्टिने गरी अन्तर्घुलन गर्दैछौं । अरू साथीहरू क्रमशः समेटिँदै जानुहुनेछ’, प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रधानमन्त्रीले पार्टीको एकता पनि चाँडै टुंगिने स्पष्ट समेत पार्नुभयो । केही विषयमा टुंगिन बाँकी रहेको भन्दै उहाले अब केहि दिनमै सबै प्रक्रिया सकिने प्रतिबद्धता पनि कार्यक्रममा व्यक्त गर्नुभयो । सरकारले जनताको गाँसबास र कपासको व्यवस्था कसरी गर्न सकिन्छ भन्ने योजनालाई समेटेर विभिन्न ३१ बुँदालाई मौलिक हकका रुपमा व्यवस्था गरेको भन्दै अब कोहि पनि भोकै बस्नुपर्ने अवस्था नआउने बताउनुभयो । ‘हामी निरपेक्ष गरीबि हटाउने छौं । त्यसका लागि रोजगारीको व्यवस्था कसरी सिर्जना गर्न सकिन्छ । कृषिको आधुनिककीकरण, उद्योगको स्थापना र विकास कसरी हुन्छ ? पर्यटन क्षेत्रको विकास गरेर नेपाली अर्थतन्त्रलाई कसरी विकास गर्न सकिन्छ भन्ने कुरामा सरकारले दीर्घकालीन योजना बनाएर काम गरिरहेका छौं’, प्रधानमन्त्री ओलीको भनाई थियो ।