जनता टाइम्स

३ जेष्ठ २०७६, शुक्रबार ११:१९

मदन भण्डारीको हत्यारालाई कानुनी कठघरामा ल्याउछु यो मेरो प्रतिवद्धता भो – गृहमन्त्री थापा


काठमाडौं ।

गृहमन्त्री रामबहादुर थापा बादलले २६ वर्षपछि आएर तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र जिवराज आश्रितका हत्यारा पत्ता लगाई छाड्ने उद्घोष गर्नुभएको छ । उहाले यसविषयमा सरकारले छानविन समेत शुरु गरिसकेको जानकारी गराउनु भयो ।

२६ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताउनु भयो । ‘मदन आश्रितका हत्याराहरुलाई कानुनको कठघरामा ल्याउने र उनिहरुलाई अपराधको सजाय दिने विषयमा वर्तमान सरकारले आफ्नो प्रक्रियालाई अगाडी बढाईरहेको छ’, उहाले भन्नुभयो,‘हामीले ति हत्याराहरुलाई निश्चित रुपमा कानुनको कठघरामा ल्याउने नै छौं । यो प्रतिवद्धता मेरो भो ।’

यद्यपी उहाले कसरी, कुन निकायबाट छानविन हुदैछ भनेर केही खुलाउनु भएन । भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो ।