जनता टाइम्स

३ जेष्ठ २०७६, शुक्रबार १८:००

गोकर्णेश्वर नगरमा बढदो जग्गा विवादले जनप्रतिनिधि हैरान


काठमाडौँ, जेठ ३

स्थानीय तहमा जग्गाका धेरै समस्या आई समाधान गर्न कठिनाइ हुन थालेको जनप्रतिनिधिको गुनासो छ । गोकर्णेश्वर नगरपालिका–२ मा अरूको जग्गा मिचेर घर बनाएको भनी धेरै जनाले गुनासो लिएर आएको वडाध्यक्ष कृष्णबहादुर पण्डित क्षत्रीले बताउनुभयो । दुई/तीन आना जग्गा लिएर घर बनाउनेले साँध सीमा मिची अरूको जग्गामा घर बनाएको उजुरी आउने क्रम बढेको उहाँको भनाइ छ ।

धादिङ स्थायी घर भएका टेकबहादुर तामाङले दुई वर्षअघि नगरपालिका–२ नयाँपाटीमा कित्ता नं ६८६ को जग्गा खरीद गर्नुभएको थियो । जग्गा किनाउने दलालले पनि सँगै जोडिएको कित्ता लिएका थिए । निजीस्तरका अमिनीले त्यसबेला नापजाँच गरेर किला ठोकिएको थियो । केही महीनापछि वरपरका जग्गा धनीले मिचेर दुई आना तीन पैसा जग्गा छैन भन्न थालेपछि आफू अप्ठेरोमा परेको उहाँले गुनासो गर्नुभयो ।

धेरै जग्गा किनेर खण्डीकरण गरी व्यवसाय गर्नेका कारण जग्गा हराउने गरेको वडा कार्यालयले जनाएको छ । यस्ता व्यवसायीले ल्याउने निजी अमिनीले जसले बढी पैसा दियो त्यतै किला ठोकिदिने गर्दा स्थानीयस्तरमा समस्या आउने गरेको बताइएको छ । नापी कार्यालय साँखुका प्राविधिकले जग्गा भएको भनी नापजाँच गरी किला ठोके पनि सँधियारले उक्काइदिएको तामाङले गुनासो गर्नुभयो । यसैगरी नगरपालिका–१ मा मीना श्रेष्ठको नाममा रहेको जग्गामा नानीमैयाँ बुढाथोकीले घर बनाउन थालेपछि नगरपालिकाको न्यायिक समितिमा उजुरी प¥यो । नक्सा पास नगरी बनाउन थालिएको घरको काम समितिले रोक्यो ।

राजधानी नजिकको काँठ क्षेत्रमा जग्गा किनबेच भएर घर बन्न थालेसँगै यस्ता समस्या पनि बढ्न थालेको छ । नापी कार्यालयले हाल साबी नगरेको र नापीमा आधुनिक प्रविधिको प्रयोगसमेत नगरिएका कारण यस्तो समस्या बढ्ने गरेको छ ।

नगरपालिकाको न्यायिक समितिमा हालसम्म जग्गाको साँध सीमासम्बन्धी बढी उजुरी दर्ता भएको छ । नगर उपप्रमुख एवं शान्ति नेपाल यस वर्षमात्र समितिमा ९३ वटा उजुरी दर्ता भएकामा ९० प्रतिशतभन्दा जग्गाको सीमा विवादको रहेको बताउनुहुन्छ । जग्गा विवादका समस्या समाधानमै न्यायिक समितिले बढी समय खर्चनु परेको उहाँले गुनासो गर्नुभयो ।

पुस्तौँदेखि मोहीले कमाएको जग्गा थाहा नदिई धनीले चक्लाबन्दी गरेको गुनासो पनि समितिमा दर्ता भएको छ । तीन पुस्ता अघिदेखि कमाउँदै आएको जग्गा मोहीलाई थाहा नदिई धनीले खण्डीकरण गरेको उजुरीमा प्रहरी प्रशासनले केही नगरेपछि न्यायिक समितिको ढोका ढक्ढक्याउन बाध्य हुनुपरेको पीडित शिवप्रसाद पुडासैनीले गुनासो गर्नुभयो ।