जनता टाइम्स

३ जेष्ठ २०७६, शुक्रबार १८:४६

भक्तपुरलाई देशकै नमुना जिल्ला बनाउन महेश बस्नेतले गरे यस्तो अपिल


भक्तपुर, जेठ ३

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरलाई देशकै नमुना जिल्ला बनाउने उदघोष गर्नुभएको छ ।

भक्तपुर २ काट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेता बस्नेतले अव भक्तपुरले विकास खोज्ने नभई विकासले भक्तपुर खोज्दै आउने दिनको शुरुवात भएको उदघोष पनि गर्नुभयो । आज भक्तपुरमा दुईवटा ट्रष्ट पुलको शिलान्यास गर्दै बस्नेतले भक्तपुरलाई देशकै नमुना जिल्लाको रुपमा विकसित गराउन राष्ट्रिय गौरवका आयोजनालाई विशेष ध्यानपूर्वक अघि बढ्नुपर्नेतर्फ स्थानीयबासीलाई सुझाव दिनुभयो ।

उहाँले स्मार्ट सिटी, आधुनिक वीर अस्पताल, सभागृह, प्राणी उद्यान, रंगशाला लगायतका ठूला आयोजना सफलता पूर्वक सम्पन्न गराउनु नै भक्तपुरका जनताको भाग्य र भविष्य रहेको बताउनुभयो । बस्नेतले राष्ट्रिय गौरवका आयोजनाहरु सफलतापूर्वक सम्पन्न गराउन सवै राजनीतिक दल तथा स्थानीयवासीको साथ र सहयोग अपरिहार्य रहेको भन्दै सघाउन बिशेष अपिलसमेत गर्नुभयो ।