जनता टाइम्स

७ चैत्र २०७६, शुक्रबार ०७:१७

कोरोनाको त्रासले काठमाडौं छोड्नेको संख्या बढ्दै


काठमाडौं, चैत ७ ।  कारोना भाइरसको सन्त्रासले उपत्यकाबाट बाहिरिनेको संख्या बढेको छ । बुधबार सरकारले कोरोना भाइरसबाट जोगिन भन्दै स्कुल, कलेज, सिनेमा घर, रंगशालालगायतका मानिस बढी भेला हुने स्थान बन्द गर्न निर्देशन दिएको थियो । त्यस्तै विहिवारबाट शुरु हुने एसर्ईई तथा विश्वविद्यालयका सम्पूर्ण परीक्षा पनि स्थगित गर्न निर्देशन दिएको थियो ।

एक महिना स्कुल कलेज बन्द भएपछि अध्ययनका लागि काठमाडौ बस्ने विद्यार्थीहरु धमाधम घर फर्किन लागेका हुन् । त्यस्तै रोजगारीका क्रममा उपत्यका बस्ने अभिभावकहरुले पनि कारोना त्रासले आफ्नो छोराछोरीलाई गाँउ पठाउन लागेका छन् । अचानक स्कुल कलेज बन्द भएर गाँउ फर्कनेको संख्या बढेपछि बसपार्कमा भिड बढेको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

अहिले दशैँ तिहारमा जस्तै उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्या अचानक बढेको बताउनु भयो ।उहाका अनुसार बिहीबार मात्र काठमाडौंबाट १ लाख भन्दा बढी मानिस बाहिरिएका छन् । बुधबार र बिहीबार झण्डै २ लाख यात्रु बाहिरएको ट्राफिक महाशाखाको तथ्यांक छ । आज (शुक्रबारबाट) अझ बढ्ने अनुमान गरिएको छ ।अहिले नागढुङ्गा, जगाती, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्यामा पनि वृद्धि भएको छ । आज बिहानैदेखि काठमाडौँको नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, कलङ्की क्षेत्रमा यात्रुको भीड लागेको छ ।